एमालेको ऐतिहासिक प्रथम विधान महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न कमिटी गठन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ऐतिहासिक प्रथम विधान महाधिवेशन आज २०७८ साल असोज १५ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भव्य समारोहबीच शुभारम्भ भएको छ । 

महाधिवेशनको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो । साथै, प्रसिद्ध कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत पनि गाइएको थियो । उक्त अवसरमा ज्ञात–अज्ञात अमर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले पानसमा बत्ती बालेर महाधिवेशनको समुद्घाटन गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जननेता कमरेड मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री कमरेड मनमोहन अधिकारीप्रति महाधिवेशनको उद्घाटनका अवसरमा उच्च सम्मान तथा स्मरण गरिएको थियो । 

साथै, नवौँ महाधिवेशनयता दिवंगत हुनुभएका पार्टी केन्द्रीय कमिटीका सदस्यहरू रामनाथ ढकाल, महिन सुब्बा लिम्बू, रवीन्द्र अधिकारी, दिनेशचन्द्र यादव, पशुपति चौलागाईं र योगनारायण यादव लगायत प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । 

महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न कमिटीहरु गठन गरिएको छ । जसमा अध्यक्ष मण्डल तर्फ अध्यक्ष केपी शर्मा ओली सदस्यहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् । 

प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा। राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी रहेका छन् । सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा. बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा। शिवमाया तुम्बाहाम्फे रहेका छन् । 

बहस नोट कमिटीमा मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर रहेका छन् । यस्तै प्रचार समन्वय कमिटीमा योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा रहेका छन् । 

कुल ६ हजार ३ सय ४७ प्रतिनिधिहरू सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्र पछि आज अध्यक्ष कमरेड केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव कमरेड ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख कमरेड विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तुत दस्तावेजहरुमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ । आज दोस्रो दिन दस्तावेजहरुमाथि समूहगत छलफल हुने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया