काठमाडौं, सामाजिक राजनितिक परिवर्तनसंगै महिला पनि हरेक स्थानमा अग्रसर बन्दै गएका छन् । चुलोचौकमा मात्र समिति रहने महिलाहरु आज विश्वमा कुना कुनामा पुगेर नेपाललाई चिनाउन सफल भएका छन् ।
आज इतिहास पल्टाएर हेर्ने हो भने नेपाल कयौँ यस्ता महिलाहरु रहेका छन् । जसले हजारौं बाधाहरुको बाबजुद पनि हाम्रो देशलाई विश्वमाझ चिनाउने थुप्रै कार्यहरु गरेका छन् । यस्तै आज हामी यस्ता ७ महिलाको बारेमा कुरा गर्नेछौ जसले आफ्नो साहास र नेतृत्व शक्तिले इतिहास रचेका छन् ।
१. पुष्पा बस्नेत
नेपालमा कार्यरत समाजसेवी तथा प्रारम्भिक बाल विकास केन्द्र (ECDC) र पुतली घर नामक गैह्रनाफामुलक गैह्रसरकारी संस्थाकी संस्थापकरअध्यक्ष हुन। उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दछ।
अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोको मनोनयनमा परेकी थिईन्। कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षा दीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।

२. पासाङ ल्हामु
पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला हुन्। उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो ।
सगरमाथा चढ्नु भन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसकेकी थिईन्। । ल्हामुको सहासको सम्मान गर्दै नेपाल सरकारले उनलाई नेपालको राष्ट्रिय बिभूती घोषित गरेको। सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गर्याको हो। उनको मृत्युपछि नेपाल सरकारले नेपाल तारा अलंकारले पुरष्कृत गर्यो। यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको छ । उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन पनि सञ्चालित छ।
२०५० साल वैशाख १० गते दिउँसो २ः१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन। पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो 'जासम्बा'नामको चुचुरोलाई 'पासाङ ल्हामु चुली' नामकरण पनि गरिएको छ ।

३.मीरा राई
मीरा राई नेपाली म्याराथन खेलाडी तथा पूर्व माओवादी लडाकु हुन्। सन् २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्। उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन्।
उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन्।मीरा राईले सन् २०१४ को मुस्ताङ ट्रायल दौड , बफेलो स्टमपेड तथा अन्यमा जित हासिल गरिसकेकी छिन् । हङकङमा भएको अल्टा ट्रायल दौड प्रतियोगितामा पनि उनी विजेता बनेकी थिइन । उनले सो दौड १२ घण्टा ३२ मिनेट ३२ सेकेन्डमा पुरा गरी पदक हात परेकी थिइन् ।
त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्। त्यही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो। राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन्।
मीराको बाल्यकाल भोजपुरको गाउँमै बितेको थियो। गाईबस्तु चराउने र खेतीपातीमै बाल्यकाल बिताएको स्मरण गर्दै मीराले नेसनल ज्योग्राफिकले लिएको अन्तर्वार्तामा भनेकी छन्, ‘गाउँमा केटीहरूका लागि कुनै अवसर थिएन। पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउँथ्यौं।’ यसैबीच १४ वर्षको उमेरमा उनी माओवादी ‘जनयुद्ध’मा सामेल भएकी थिइन्। उनले माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिमसमेत लिइन्। सेना समायोजन क्रममा अयोग्य भएपछि बल्ल उनको खेल जीवन सुरु भएको थियो।

४. विद्यादेवी भण्डारी
विद्यादेवी भण्डारी नेपालको वर्तमान राष्ट्रपति तथा प्रथम महिला राष्ट्रपति हुन् । गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन् । नेकपा एमालेमा रही सकृय राजनीति गर्ने यिनी नेपालको जनसङ्ख्या तथा वातावरण र रक्षामन्त्री समेत भइसकेकी छिन्। उनलाई विश्व प्रसिद्ध पत्रीका फोर्ब्सले वर्ष २०१६ का शक्तिशाली महिलाहरू मध्ये ५२औं स्थानमा सूचिकृत गरेको छ ।
भोजपुर क्याम्पसमा आइ.ए.अध्ययन को थालनिसगै वि.सं.२०३५ देखि नेकपा मालेको युवा लिगमा संगठित हुदै विद्याले राजनितिक जीवनको थालनी गरेकी हुन् ।
भण्डारी २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौँ महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरेकी छन्। करिब २ दशकदेखि उनी पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल महिला संघकी अध्यक्ष छिन्। २०६५ सालमा बुटवलमा भएको आठौँ र काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।
बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको शुरुवात गरेकी विद्याले विद्योदय व्यवसायिक सेकेन्डरी स्कुल, भोजपुर बाटै एस एल सी उत्तिर्ण गरेकी हुन्। भोजपुर क्याम्पस, भोजपुरमाबाट आइ ए को अध्ययन पुरा गरी महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा बि.ए.अध्ययन गरेकी हुन्।

५. फुपु लामु खत्री
फुपु लामु खत्री नेपाली राष्ट्रिय जुडो खेलाडी हुन् । उनले चौथों एसियाली युथ गेम्स, थाइल्याण्डमा कास्य पदक प्राप्त गरेकी थिइन ।
२१ वर्षीया फुपु ल्हामु खत्रीले २०१६ दक्षिण एसियाली खेलकुदमा महिला जुडोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका चुनौतीहरुलाई पराजित गर्दै दोस्रो स्वर्ण पदक प्राप्त गरेकी हुन्। यो १९९५ पछि जुडोमा नेपालको पहिलो स्वर्ण पदक हो।
दक्षिण एसियाली खेलकुद पछि, खत्रीले हंगेरीको बुडापेस्टमा आयोजित ओपन जुनियर जुडो च्याम्पियनशिपमा अर्को स्वर्ण पदक जितेकी हुन् । उनी जुडो खत्री भनेर पनि चिनिन्छिन् ।

६.सुशीला कार्की
सुशीला कार्की सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश तथा प्रथम महिला प्रधान न्यायाधीश हुन् कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन् ।
सन् १९७२ मा यिनले महेन्द्र मोरङ क्याम्पसबाट बीए गरेकी थिइन् । यिनले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेकी छिन् । उनले वर्ष १९७८ मा त्रिभुवन विश्वविद्यालयबाट कानुन स्नातक उपाधि प्राप्त गरेकी हुन् ।
उनले न्यायाधीश हुँदा थुप्रै चर्चित मुद्दाहरूमा फैसला गरेकी छन्। बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकी थिइन्। साधारण जीवनशैली रहेकी सुशीला कार्कीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने न्यायाधीशको रूपमा चिनिन्छ।
उनले महिलालाई सकारात्मक विभेद गर्छिन् भन्ने आलोचना पनि हुनेगर्छ। उनले हिंसामा परेका महिलाहरूको कानुनमा सहज पहुँच होस् भन्नका लागि पहल गरिरहेको बताएकी थिइन् ।

७.झमक कुमारी घिमिरे
झमक कुमारी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोगद्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन।
जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन।खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र् लेखेको देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन्। झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन्
उनले धेरै कविताहरू लेखेकी छन् जसमध्ये संकल्प,आफ्नै चिता अग्नि शिखातिर,मान्छे भित्रका योद्धाहरू र अन्य विविध चर्चित कविताहरु रहेका छन् । उनले आफैँ जीवन काँडा कि फूल पनि लेखेकी छन् । उनको यो संघर्षपूर्ण आत्माकथा पढेर सायदै कमैको आखाँ नरसाउला । घिमिरे २०६७ मदन पुरस्कारबाट समेत समानित भएकी छन् ।

प्रतिक्रिया