सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिने

४ बर्ष अगाडि

कञ्चनपुर - कञ्चनपुर जिल्लाको प्रहरी कार्यालयले दशैँ–तिहारका लागि सीमानाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । सीमा क्षेत्रमा पहिलोपटक कुकुरसहित सुरक्षाकर्मी परिचालन हुन लागेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सीमानाकामा कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको बताए । 

पश्चिमी सीमा नाका गड्डाचौकी र दक्षिण पूर्वी नाका गौरीफन्टामा कुकुरसहित प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै प्रहरी युनिट दशैँ–तिहार सुरक्षाका लागि सक्रियरूपमा परिचालन गर्ने तयारमा प्रहरी कार्यालय लागेको छ । 

त्यसका लागि मातहतका सबै प्रहरी युनिटसँग छलफल अघि बढाइएको प्रवक्ता न्यौपानले बताए । प्रहरीले दशैँ–तिहारमा सीमानाकासहित पूर्व–पश्चिम राजमार्ग, बढी भीडभाड हुने ठाउँ, आपराधिक गतिविधि बढी हुने क्षेत्र, सार्वजनिक यातायातलगायतका क्षेत्रलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाउँदै आएको छ । 

यस वर्ष पनि प्रहरी शान्ति सुरक्षाका लागि योजनाबद्धरूपमा अघि बढ्न लागेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया