काठमाडौं - विश्वको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् ।
सेभेन समिट टे«किङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए । श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे÷नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान गरेका थिए ।
पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । शेर्पा (पथप्रर्दशक) पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन् । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् ।
पर्यटकका लागि शुक्लाफाँटा खुला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो । विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएका पर्यटकीय गतिविधि निकुञ्जमा खुला गरिएका हुन् ।
हात्ती सफारीबाहेकका पर्यटकीय गतिविधिका लागि निकुञ्जमा नियमानुसार अनुमति लिई प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए । जङ्गल सफारी, जङ्गल वाक, ¥याफ्टिङ तथा डुङ्गा विहार, क्याम्पिङ र फिसिङलगायतका पर्यटकीय गतिविधि खुला गरिएको उनले जानकारी दिए ।
उनका अनुसार जङ्गल वाकको हकमा एउटा गाइडले तीन र दुई गाइडले १० पर्यटकलाई गाइड गर्न पाउनेछन् । तोकिएको रुटमा मात्रै जङ्गल ड्राइभ, जङ्गल वाक, क्याम्पिनिङ तथा फिसिङ गर्न पाइने छ ।
कोरोना महामारीका कारण बन्द रहेको निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ । निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्जको प्रमुख विशेषताका रूपमा ५४ दशमलव पाँच वर्गकिलोमिटरमा फैलिएको घाँसेमैदान र त्यसमा विचरन भइरहने बाह्रसिङ्गेको ठूलो बथान हो ।
सबैभन्दा बढी पर्यटकले बाह्रसिङ्गेको बथान हेर्ने गर्दछन् । बाघको सङ्ख्यालाई र बाघ पाइने क्षेत्रलाई हेर्ने हो भने सानो क्षेत्रमा बाघको घनत्व बढी भएको क्षेत्रका रूपमा सो निकुञ्ज रहेको छ ।
निकुञ्जमा ३६ प्रकारका स्तनधारी, १२ प्रकारका घस्रने जन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा ३५ प्रजातिका पुतली र ४५० प्रजातिका चरा पाइने गर्दछन् ।
हात्ती र गैँडासमेत निकुञ्जमा रहेका छन् । निकुञ्जमा पुग्ने पर्यटकको आकर्षणका रूपमा घाँसेमैदान, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, कृष्णसार संरक्षण गरिएको हिरापुर क्षेत्र, झोलुङ्गे पुल र कालिकिच ताल रहेका छन ।
प्रतिक्रिया