न्यादी हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आईपीओ आजबाट निष्काशनमा आयो, वित्तिय अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आईपीओ) आजबाट आवेदन दिन सकिने भएको छ । कम्पनीले यसअघि नै भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको थियो । लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीहरुले यहि भदौ १५ गतेसम्म आइपीओमा आबेदन दिएका थिए । 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी २९ लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा सर्वसाधारणले असोज १५ गतेदेखि असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ । कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ७.७३ वर्ष तथा डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १३.८२ वर्ष रहेको छ ।

अबको ४ वर्षमा अर्थात आव २०८१/८२ मा  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९.८६ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । चालु आव २०७८/७९ मा ईपीएस १.९६ रुपैयाँ, आव २०७९/८० मा १३.७२ रुपैयाँ र आव २०८०/८१ मा १६.७९ रुपैयाँ रहने अनुमान गरिएको छ ।

त्यस्तै आव २०८१/८२ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १३३.९८ रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चालु आव २०७८/७९ मा प्रतिसेयर नेटवर्थ ९६.१० रुपैयाँ, आव २०७९/८० मा १०९.८३ रुपैयाँ र आव २०८०/८१ मा १२१.६२ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ सम्म कम्पनीको जगेडाको आकार ५० करोड ९६ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । चालु आवमा भने जगेडा ५ करोड ८४ लाख रुपैयाँले ऋणात्मक हुने कम्पनीको प्रक्षेपण छ । 

नाफा पनि आर्थिक वर्ष २०८१/८२ मा २९ करोड ७९ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । चालु आवमा कम्पनीको नाफा २ करोड ९३ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । 

अबको ४ वर्षमा कम्पनीको नेटवर्थमा औसत प्रतिफल १४.८२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । चालु आवमा भने यस्तो प्रतिफल २.०४ प्रतिशत रहने अनुमान गरिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया