जहाजको इण्डिकेटरले झुक्कएपछि अनुभवि पाइलट ग्राउण्डेड

४ बर्ष अगाडि

वरिष्ठ क्याप्टेन आङ्ंगेलु शेर्पा ११ वर्षअघि बुद्ध एयरले एटीआर–७२ विमान उडान शुरु गर्दा पहिलो उडान भर्ने पाइलट हुन् । त्यो बेला काठमाडौं–विराटनगर उडान  भरेका शेर्पा अहिले बुद्धका प्रशिक्षक पाइलट हुने । यतिमात्र होयन नागरिक उड्डयन प्राधिकरणमा पाइलटहरुको जाँच गर्ने डिसीपी (डेजिग्नेटेड चेक पाइलट) पनि हुन् शेर्पा।
 
बुद्धकै एटीआर–७२ उडानकै क्रममा ११ वर्षपछि गत सोमबार अनुभवि पाइलट शेर्पाका सामुन्ने एउटा ठूलो चुनौती आईलाग्यो, ल्यान्डिङ गियर (पांग्रा) मा समस्या । जहाजको इन्डिकेटरको संकेत बत्तीले ‘फल्स वार्निङ’ दिएपछि पांखा नखुलेको भन्दै उनले जहाज  विराटनगरमा अवतरण नगरी काठमाडौं फर्काएका थिए । 

तर त्यो समस्या बुद्ध एयरको एटीआर–७२ विमानमा देखिएको नभई ‘झुक्किएको’  प्रारम्भिक अनुसन्धानमा देखिएको छ । नागरिक उड्डयन प्राधिकरणले गठन गरेको छानबिन समिति र बुद्ध एयरबाट गठन गरिएको छानबिन कमिटीले पनि जहाजको उक्त दिन ल्यान्डिङ गियरमा समस्या नभएको निश्कर्ष निकालेको छ । 

यद्यमी प्रतिवेदन सार्वजनिक गरिएको छैन, तर उक्त जहाजको फ्लाइट डेटा रेकर्डर (एफडीआर) ले त्यस दिनको उडानमा पांग्रा (ल्यान्डिङ गियर) खुलेको र कुनै समस्या नरहेको देखाएको स्रोतको दावी छ । 
एफडीआरमा पांग्रा खुलेको देखिएको तर ककपिटमा रहेका दुईवटा इन्डिकेटरमध्ये पहिलो इन्डिकेटरको संकेत बत्तीले ‘फल्स वार्निङ’ दिएकोले चालकदल झुक्किएको छानविनमा संलग्न अधिकारीहरु बताउँछन् । 

पाइलटलाई हैरान पार्ने गरि देखिने सिस्टम इरर तथा फल्स वार्निङले नेपालमा मात्र नभई संसारभरको उडानमा कहिलेकाही देखिने गरेको जानकारहरु बताउँछन् । 

तर दुःखको कुरा त्यही समस्याका कारण प्रशिक्षक पाइलट शेर्पा सहितको चालक दललाई प्राधिकरणको हवाई सुरक्षा विभागले ग्राउण्डेड गरेको छ । उक्त उडानमा पाइलट शेर्पा सँगै  कोपाइलट अमन अन्सारी थिए । घटनाबारे छानबिन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्‍डयन प्राधिकरणले जनाएको छ । 

शुक्रबारभित्र छानबिनको प्रतिवेदन प्राधिकरणलाई बुझाउने र त्यसपछि प्राधिकरणको निर्णय अनुसार थप कार्य अगाडि बढ्ने बताइएको छ । 

सोमबार काठमाडौंबाट विराटनगरका लागि बिहान साढे ८ बजे उडेको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्किएको थियो। तर उडेको २ घण्टापछि जहाज काठमाडौंमा सुरक्षित अवतरण भएको थियो । जहाजमा ७३ यात्रु थिए र ति यात्रुलाई सुरक्षीत अवतरण गराएको भन्दै पाइलट शेर्पाले वाहवाही पाएका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया