साढे  ४५ लाख जनताकाे स्वास्थ्यबीमा, काठमाडौं र भक्तपुरमा भने शून्य

४ बर्ष अगाडि

देशभर ४५ लाख ५२ हजार ९११ जना स्वास्थ्य बीमामा सहभागी भएका छन् । स्वास्थ्य बीमा शुरु भएको साढे ५ वर्षमा १३ लाख ८८ हजार ५३५ परिवारका सदस्यले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बिमा बोर्डले  जनाएको छ । 

यो असोज १० गतेसम्मको तथ्यांक हो । गरिबीको परिचयपत्र प्राप्त २६ जिल्लाका अति गरिब ४ लाख ७६ हजार ३५२ जना नागरिकलाई सरकार आफैले स्वास्थ्य बिमा गरिदिएको छ भने अन्यले आफै शुल्क तिरेर स्वास्थ्य बीमा गरेका हुन् ।  ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई पनि सरकारले नै बिमा गरिदिने व्यवस्था छ । 

७५ जिल्लाको ७ सय ३६ स्थानीय तहका नागरिक स्वास्थ्यबीमामा सहभागी भएपनि देशको राजधानी रहेको काठमाडौं र भक्तपुरमा भने कार्यक्रम नै शुरु हुन सकेको छैन ।

हालसम्म सबैभन्दा बढी स्वास्थ्य बिमा गर्नेमा  प्रदेश १ अगाडी छ। सो प्रदेशमा १५ लाख ३ हजार १०५ जनाले बिमा गरेको छन्। सो क्षेत्रको जनसंख्याको ३३.१४ प्रतिशत हो। सो क्षेत्रमा ४५ लाख ३५ हजार ९ सय ४३ जनसंख्या छ।  

स्वास्थ्य बीमा गर्नेहरुले देशभरका ४ सय २८ वटा अस्पतालबाट निःशुल्क सेवा लिइरहेका छन् । स्वास्थयबीमा गरेबापत पाँच जनाको परिवारलाई वार्षिक १ लाख रुपैंयाँसम्मको औषधि तथा उपचार खर्च सुविधा पाइन्छ।  परिवारको ५ जना भन्दा बढी सदस्यले बीमा गरेमा भने प्रति सदस्य २० हजारका दरले बढीमा दुई लाखको कभरेज हुन्छ।  

त्यस्तै ज्येष्ठ नागरिकका लागि सरकारले नै बिमा प्रिमियम तिरिदिनेगरी छुट्टै एकाइको रुपमा वार्षिक एक लाख बराबरको स्वास्थ बिमाको व्यवस्था छ । अति गरिबको परिचयपत्र प्राप्त परिवारको योगदान रकमको सतप्रतिशत छुट दिइएको छ। 

यस्तै अति अशक्त अपाङ्गता (रातो कार्ड), कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट  छ।

महिला स्वास्थ्य स्वयमसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट छ। बोर्डका अनुसार बिमितले अस्पतालबाट १ हजार १ सय ३३ प्रकारका औषधि प्राप्त गर्न सक्छन्। 

बीमा गर्न भने ५ जनासम्म सदस्य भएको परिवारले प्रतिवर्ष ३ हजार ५ सय रुपैंया प्रिमियम तिर्नुपर्छ। परिवारका ५ जनाभन्दा बढी सदस्यको गर्नुपरेमा थप प्रति सदस्य ७ सय तिर्नुपर्ने व्यवस्था छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया