पाथीभरा दर्शन गर्न कन्यामबाट हेलिकप्टर, एकैदिन १४ पाथी सिक्का भेटी संकलन

४ बर्ष अगाडि

ताप्लेजुङ - स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । 

विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो । सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका कोअडिनेटर राम अधिकारीका अनुसार, दशैँमा पर्यटकलाई पाथीभरा लैजान टिकट बुकिङ खुला गरिसकेको छ । 

अधिकारीले कन्याम र कोल्बुङ क्षेत्रबाट दिनमा दुई पटक उडान भरिने जानकारी दिए । मौसमको अनुकुलता हेरेर कन्यामबाट र त्यहाँबाट नसके कुटीडाँडाबाट दिनमा दुई पटक उडान भरिने भएको छ । 

कन्याममा प्राय कुहिरो लागिरहने गर्दछ । अधिकारीका अनुसार एक पटकमा पाँचजना पर्यटक बोक्ने क्षमता भएको माउन्टेन हेलिकप्टरले कन्याम–पाथीभराको प्रतिव्यक्ति भाडादर ३५ हजार तोकेको छ । 

कन्यामबाट ३५ मिनेटमा पाथीभरा पु¥याएर एक घण्टासम्म पाथीभरा दर्शन गराएर उक्त हेलिकप्टरले पर्यटकलाई कन्याम ओराल्ने  जनाएको छ । स्टेसन मेनेजर अधिकारीले भने, ‘पाथीभरा दर्शनमा जाने बिरामी, अशक्त र पर्यटकलाई मध्यनजर गरी सेवा सुरु गरेका हौँ, उनले भद्रपुरभन्दा कन्यामबाट भाडादर सस्तो भएको जानकारी दिए । 

राजमार्ग भएर पाथीभरा पुग्न सवारी निक्कै कठिन पर्ने गरेको छ । ताप्लेजुङको सुकेटार विमान स्थलबाट एक दिनको पैदलयात्रा गरेपछि मात्र पाथीभरा पुग्न सकिन्छ । विजया दशमीको अवसर पारेर कन्यामबाट पाथीभरा, पाँचथरको तिम्बुङपोखरी र ताप्लेजुङको सुकेटार विमान स्थलबाट पनि सोझैं पाथीभरा दर्शन गर्ने व्यवस्था मिलाइएको छ । 

कन्यामबाट पाथीभरा गएको समय बाहेक सो हेलिकप्टरले स्वदेशी पर्यटकको रोजाईमा परेको कन्याम, अन्तु फन फ्लाईटको व्यवस्था मिलाएको छ । कन्यामबाट तीन हजार पाँच सयमा अन्तुसम्मको फन फ्लाईट गराइने स्टेसनम्यानेजर अधिकारीले जानकारी दिए । 

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा पछिल्ला वर्ष ठूलो परिमाणमा सिक्का पैसा संकलन हुने गरेको छ । पहिला देवीलाई बलि चढाउन बोकापाठा लैजानेहरू अहिले सिक्का पैसा लिएर जाने गरेका छन् । 

सिजनको समयमा एकै दिनमा १४/१५ पाथीसम्म सिक्का संकलन हुने बताइएको छ । असोजदेखि मध्यमंसिरसम्म र फागुनरचैतरवैशाखलाई पाथीभराको प्रमुख सिजन मानिन्छ । यी सिजनमा एकै दिन १३ हजारसम्म तीर्थयात्री आएको तथ्यांक पाथीभरा क्षेत्र विकास समितिसँग छ । गत वर्ष असोजमा एकै जनाले १६ पाथी सिक्का पैसा चढाएका थिए ।

यी सिजनमा दैनिक दुई क्विन्टलसम्म सिक्का जम्मा भएको बताइएको छ । एकै सिजनमा ७० क्विन्टलसम्म सिक्का जम्मा भएको तथ्यांक समितिसँग छ । एक पाथीमा २२ किलो हुन्छ । सिक्का पैसा लिएर जानेले काफ्लेपाटीदेखि नै ढुंगाहरूमा सिक्का चढाउने गरेका छन् । 

पाथीभरामा मुठीले पनि सिक्का चढाउने भक्तजन आउने गरेका मन्दिरका पुजारी डिल्ली आचार्य बताउँछन् । मन्दिरमा प्रत्येक दिन संकलित सिक्का गोदाममा राखिन्छ । त्यसका लागि एउटा छुट्टै भवन बनाइएको छ । त्यहाँबाट बोरामा हालेर ५ किलोमिटर तल काफ्लेपाटी झारिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया