काठमाडौं - पहिरोका कारण साढे तीन महिनादेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिराले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो ।
गत असार १ गते खसेको पहिराका कारण अवरुद्ध भएको सडक असार १८ गते वर्षासँगै आएको पहिरोले क्षतविक्षत भएको थियो । सडक मर्मतका लागि नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट रु १६ लाख ६० हजार र त्यसको २० प्रतिशत हुन आउने रकम स्थानीय उपभोक्ताले व्यहोर्ने गरी सडक मर्मतको काम थालिएको उपभोक्ता समितिका अध्यक्ष यादव शर्माले बताए ।
रु २० लाख ९३ हजार लागत स्टिमेट गरेर मर्मत थालिएको सडक दशैँअगावै सञ्चालनमा ल्याइने शर्माले जानकारी दिए । पहिरोका कारण सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सहज सडक सम्पर्क छैन । वैकल्पिकरूपमा सञ्चालनमा आएको कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्डमा समेत सोही पहिरो र अन्य पहिराले बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।
नगरपालिकाको बलेवा क्षेत्रका चार वडाका उपभोक्ताको सहभागितामा समिति गठन गरेर काम थालिएको हो । उपभोक्ता समितिले स्थानीय निर्माण कम्पनीसँगको सहकार्यमा सडक खुलाउने प्रयास थालेको हो ।
हिउँदयाममा मात्रै चल्ने गरी भए पनि सडक सञ्चालन गर्न मर्मत थालिएको पाठकले बताए । दव्ल्याङबाट वडा नं १२ को टाकुरीसम्म १४ किलोमिटर कालोपत्र रहेको उक्त सडक एउटै पहिरोले साढे तीन महिनादेखि प्रयोगविहीन थियो ।
प्रतिक्रिया