चाँगुनारायणले विश्वकै उत्कृष्ट १० नगरपालिकाको उपाधि पाएको समाचार गलत रहेको देखिएको छ । नेपाली समाचारहरुको तथ्यजाँच गरिरहेको ‘नेपाल फ्याक्टचेक डट ओआरजी’ले तथ्यजाँचको क्रममा उक्त समाचार भ्रामक रहेको जनाएको हो ।
२०७८ असोज ५ गते नेपाली मिडियामा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको’ भन्ने समाचार आएको थियो ।
समाचार अनुसार ‘संयुक्त राज्य अमेरिकाको न्यू योर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा’ यो नगरपालिकाले उपाधि हासिल गरेको भनिएको छ ।
यो समाचारबारे तथ्य जाँचका लागि आएको अनुरोध अनुसार उक्त संस्थाले यसबारे खोजेको थियो । जस अनुसार नेपाली मिडियाहरुले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयले सञ्चालन गरेको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र परेको लेखिएको थियो । त्यस्तै अन्तर्राष्ट्रिय जगतमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिएको कुरा समाचारमा उल्लेख थियो ।
उक्त समाचार सरकारी समाचार संस्था राससले लेखेको र राससबाट अन्य सञ्चारमाध्यमले लिएका थिए ।
यसबारे खोज्नका लागि फ्याक्टचेकले द गभ ल्याब र ओपन सिटी इन्क्युबेटरबारे खोजी गरेको थियो । जहाँ उक्त कार्यक्रमबारे विस्तृत जानकारी राखिएको थियो । त्यहाँ राखिएको जानकारी अनुसार विश्वका विभिन्न १० देशका १० वटा सहरहरुलाई ६ महिनासम्म सहयोग गरी उनीहरुको डेटा इन्नोभेसन आइडियाहरुलाई सघाउने कार्यक्रम रहेको उल्लेख छ ।
जसमा राखिको विवरण अनुसार चाँगुनारायण नगरपालिका समाचारमा उल्लेख भए अनुसार उत्कृष्ट सहरको उपाधि पाएको नभइ सिटी इन्क्युबेटर कार्यक्रममा आह्वान गरिएको खुला आवेदनमा छनौटमा मात्र परेको हो ।
स्टेटस्कूपमा उल्लेख भए अनुसार छनौटमा परेका सहरका अधिकारीलाई उनीहरुको ड्रिम डेटा प्रोजेक्टका लागि प्रविधिविज्ञ, निजी क्षेत्रका कार्यकारीहरु र इन्जिनियरहरुको मेन्टर काउन्सिलबाट ६ महिना सहयोग गरिनेछ ।
नेपाल तथ्यजाँच लेख्छ, ‘चाँगुनारायण नगरपालिकाले विश्वको उत्कृष्ट १० नगरपालिकाको उपाधि हासिल गरेको होइन। डेटा इन्नोभेसन सम्बन्धी द गभ ल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा आह्वान गरिएको खुला आवेदन परेका मध्ये छनौट भएका १० सहरमध्ये यो नगरपालिका पनि परेको हो।
प्रतिक्रिया