काठमाडौं,हाइड्रोइलेक्ट्रिसिटि इन्भेन्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) को लिलामी शेयरमा न्यूनतम एक करोड कित्ता खरिद गर्नुपर्ने सूचना प्रति स्वतन्त्र पूँजी बजार संघले आपत्ती जनाएको छ ।
केही समय अगाडी एचआईडिसिएलले जारी गरेको हकप्रद शेयर मध्ये बिक्री नभएको साधारण तर्फ ३२ लाख २९ हजार ७९४ कित्ता र संस्थापकतर्फ ३ करोड ३० लाख कित्ता शेयर बोलकबोल लिलामी बिक्रीमा राखेको सूचना मिति २०७८र०६र०७ गते प्रकाशित गरेको थियो ।
तर उक्त सूचनामा संस्थापक तर्फको शेयर खरिद गर्नेले न्यूनतम एक करोड कित्ता खरिद गर्नुपर्ने भनी जारी गरिएको प्रति स्वतन्त्र पूँजी बजार संघको गम्भीर ध्यानाकर्षण जनाएको हो ।
सामान्य लगानी कर्ताको पहुँचभन्दा धेरै नै माथि लगानी गर्नुपर्ने बाध्यात्मक अवस्था सुजना गरी केही सीमित व्यक्तिहरुको मात्र पहुँच पुग्नेगरी संस्थापक शेयर बिक्री गर्न खोज्नु र लिलामी बिक्रीबाट कम्पनीलाई उच्च नाफा हुने अवस्था हुँदा–हँदै पनि केही सीमित व्यक्तिको फाइदाको लागि कम्पनीको आम्दानी घटाउने नियत प्रष्ट देखिएको पूँजीबजार संघको भनाइ छ ।
जसको प्रत्यक्ष असर एचआईडिसिएलमा लगानी गरेका आम लगानीकर्ता, कम्पनी स्वयं र नेपाल सरकारलाई पर्ने संघको दाबी छ ।
उक्त कम्पनीको संस्थापक शेयरको लकिङ्ग पिरियड पनि सकिसकेकोले अहिले दोस्रो बजारमा साधारण शेयरको हिसाबमा सहजै कारोबार गर्न सकिन्छ ।
ठूलो परिमाणमा सस्तो मूल्यमा शेयर खरिद गरेर दोस्रो बजारमा उच्च मूल्यमा बिक्री गर्ने योजनाप्रति संगठनले आपत्ती जनाएको छ ।
उक्त नीतिगत निर्णय तुरून्तै नसच्चाइएमा सरोकारवाला सबै निकायहरुको विरुद्धमा आन्दोलनमा जान बाध्य हुने समेत चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया