काठमाडौं, विभिन्न ४ हाइड्रो कम्पनीहरूले साधारण सभा डाकेको छन् । रुरु जलविद्युत परियोजना लिमिटेड, सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड,अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएका हुन् ।
कुन कम्पनीको कहिले र कहाँ ?
१. रुरु जलविद्युत परियोजना लिमिटेड
रुरु जलविद्युत परियोजना लिमिटेडको १५ औँ र १६ औँ वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ
सभा हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट १०.५६३२ प्रतिशत नगद लाभांश (कर सहित) र २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। त्यसैगरी, सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्नेछ। लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।
२. सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड
सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको दशौँ वार्षिक साधारण सभा कार्तिक ११ गते हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
३. अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा असोज २४ गते हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभाले बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १ः०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (आईतबार) सम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको भदौ ३१ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
४.अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड
अपर तामाकोशी हाइड्रोपावरले गत दुई आर्थिक वर्षको अर्थात् १२ औँ र १३ औँ वार्षिक साधारण सभा असोज १९ गते गर्ने निर्णय गरेको छ । सभाले दुवै आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि सभाले अनुमोदन गर्नुको साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ४ गते १ दिनका लागि बुकक्लोज गरेको छ । त्यसैले, भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया