काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । उक्त आईपीओको बाँडफाँड भोलि बिहान ९ बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो ।
कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको थियो ।
बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १ लाख १ हजार २८ जना आवेदकबाट १ अर्ब ९३ करोड २५ लाख ७८ हजार रूपैयाँ बराबरको १ करोड ९३ लाख २५ हजार ७ सय ८० कित्ताको लागि आवेदन दिएका छन् ।
केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया