पशुपति क्षेत्र स्वच्छ अभियान सुरु, मूर्तिकला सङ्ग्रहालयलाई गति दिन ३६ करोड ६५ लाख खर्चमा  गुरु योजना

४ बर्ष अगाडि

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई मुख्य गन्तव्यस्थल बनाउने उद्देश्यले पशुपति स्वच्छ अभियान सुरु भएको छ । 

पशुपति क्षेत्र विकास कोषको आयोजनामा सुरु गरिएको अभियानमा आज चलचित्र कलाकार सङ्घको नेतृत्वमा पशुपति क्षेत्र सफा गरिएको हो । सफाइमा मदनदास श्रेष्ठ, शिव श्रेष्ठ, गौरी मल्ल, चलचित्र निर्देशक शोभित बस्नेत, रविन्द्र खड्कालगायतको सहभागिता थियो ।  
 
कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको पशुपतिनाथ मूल मन्दिर भदौ २५ गते खुला गरिएसँगै कोषले सो अभियान सुरु गरेको हो । कोरोनाका कारण निषेधाज्ञा जारी गरिएका बेला पशुपति क्षेत्रका सबै स्थानमा जम्मा भएको फोहर उठाउन अभियानबाट  सहयोग मिल्ने विश्वास गरिएको छ । 
 
यो अभियान प्रत्येक हप्ता गरिने र आज बिहान दुई घण्टा सफा गरिएको थियो । अभियानमा सहभागी हुन चाहने हरेक क्षेत्रका नागरिकले शनिबार स्वयंसेवा गर्न सक्ने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । विभिन्न क्षेत्रका मानिसले पशुपति क्षेत्रमा सफाइका लागि रुचि देखाउन थालेकाले पहिलोपटक गत हप्ता वाग्मती सफाइ महाअभियानका आयोजकले नै पशुपति क्षेत्रमा सफा गरेको थियो । 

यस्तै दश देशका १५ प्रसिद्ध मूर्तिकारका कलाकृति रहेको खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय निर्माणको कामलाई गुरुयोजनामार्फत अगाडि बढाइने भएको छ । गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन उक्त सङ्ग्रहालयलाई पर्यटकीय र सांस्कृतिक सम्पदास्थल बनाउन योजनाबद्ध विकासको थालनी गर्न लागिएको हो । 

गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । ललितपुरको ‘हाबिल इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले गुरुयोजना निर्माणको जिम्मा लिएको उनी बताउँछन् ।  गत मङ्गलबार कन्सल्टेन्सीले गुरुयोजनाको प्रारम्भिक प्रतिवेदनसहित प्रस्तावना र अवधारणा समेटिएको भिडियो सामग्री सार्वजनिक गरेको थियो । 

गुरुयोजना अनुसारको संरचना बनाउन रु ३६ करोड ६५ लाख खर्च हुने प्रतिष्ठानले जनाएको छ । पूर्वाधार निर्माणको कामलाई दुई चरणमा बाँडिएको अध्यक्ष रानाले बताए । सुरुआतका दुई वर्षमा रु सात करोडको लागतमा सडक स्तरोन्नति, बगैँचा, टिकट कक्ष, प्रवेशद्वार निर्माणलगायतको काम गरिनेछ । 

यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गलकोट नगरपालिकाको पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गतको बजेट खर्च हुने प्रतिष्ठानले जनाएको छ । मन्त्रालयको रु चार करोड ५५ लाख तथा नगरपालिकाको रु दुई करोड ४५ लाखको लागतमा पूर्वाधार निर्माणको काम हुनेछ । सङ्ग्रहालय निर्माण र पर्यटकीय लेक घुम्टेसम्म सडक पहुँच विस्तार गर्न सो रकम खर्च गरिने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया