दसैँ मनाउन भारतबाट दैनिक १५०० व्यक्ति स्वदेश फर्किँर्दै

४ बर्ष अगाडि

दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरु भएको छ । 

रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेका छन् । दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब एक हजार ५०० व्यक्ति स्वदेश भित्रिरहेको जमुनाह प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले जानकारी दिए । 

उनका अनुसार, अहिले भारततर्फ जाने भन्दा स्वदेश फर्किनेको सङ्ख्या धेरै छ । दसैँ तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन् ।

स्थानीय तथा प्रदेश सरकारले कामका लागि भारत जानेको सङ्ख्यामा कमी ल्याउने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने लागू हुन सकेको छैन । लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन् । 

मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीको समयमा भने स्वदेश फर्किने गर्छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमूलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या अधिक छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया