नेपाल बायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले २ महिनादेखि रोकिएको कर्मचारीको तलब भत्ता सिहंदरबारबाटै भुक्तानी गर्ने निर्णय गरेका छन् ।
नेपाल वायुसेवा निगमलाई कम्पनीमा बदल्ने योजनाको बिरोधमा उत्रेका कर्मचारीको आन्दोलनका कारण तलब खान नपाएपछि पौडेलले विशेषाधिकार प्रयोग गर्दै मन्त्रालयबाटै तलबभत्ता भुक्तानी गर्ने भएका हुन् ।
‘कर्मशील कर्मचारीहरुको जीवन निर्वाहमा कठिनाइ परिरहेको अवस्थाले मध्यनजर गर्दै १५ दिनको प्रयास तथा तालुक मन्त्रालयसँग गहन छलफल गरी महाप्रबन्धकमा रहेको विशेषाधिकार प्रयोग गरी आगामी सोमबारदेखि हालसम्मको तलब भत्ता भुक्तानी दिने निर्णय गरेको छु,’ निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले शुक्रबार साँझ फेसबुकमा लेखेका छन् ।
किन भैरहेको छ आन्दोलन ?
केपी शर्मा ओली नेतृत्वको सरकारले निगमको संस्थागत संरचना बदल्न बजेटमार्फत कार्यक्रम ल्याएपछि निगमलाई कम्पनीमा बदल्न त्यहाँको संचालक समितिले प्रबन्धपत्र र नियमावलीको मस्यौदा बनाएको थियो । त्यसैको विरोधमा असार १८ गतेयता कांग्रेस, एमाले र माओवादी निकट ट्रेड युनियनले महाप्रबन्धकलाई निगम प्रवेशमा रोक लगाउँदै आन्दोलन गर्दै आएका छन् ।
८५ दिनदेखि जारी ट्रेड युनियनको आन्दोलनका कारण महाप्रबन्धक पौडेल निगम छिर्न पाएका छैनन् । उनले सिंहदरबास्थीत पर्यटन मन्त्रालयमै बसेर काम गर्दै आइरहेका छन् भने कर्मचारीहरुले चालु आर्थिक वर्षको दुई महिना साउन र भदौको तलब भत्ता पाएका छैनन् ।
कर्मचारीको तलब भविष्यमा संचालक समिति बैठकबाट अनुमोदन गर्नेगरी मन्त्रालयबाट निकासा गर्ने निर्णय गरेको पौडेलले बताए ।
प्रतिक्रिया