उद्योग मन्त्री यादव रमितेमा परिणत, किसान मर्कामा, धान बेच्नै भयो महाभारत

७ बर्ष अगाडि

 
काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको कारण किसानहरु चरम रुपमा मर्कामा पर्न थालेका छन् । उनकै मन्त्रालय मातहत रहेको  नेपाल खाद्य संस्थानको लापरवाहीका कारण किसानले कम मूल्यमा धान बेच्न बाध्य हुनुपरेको छ ।

संस्थानका उच्च अधिकारी कोही पनि किसानलाई राहत दिने पक्षमा देखिएका छैनन् । सरकारले समेत किसानलाई उचित मूल्य दिएर धान खरिदमा ध्यान दिएको छैन । मातृका यादवले खाद्य संस्थानका पदाधिकारीले आफ्नो निर्देशन नमानेको भन्दै रोइलो गरेर हिडेका छन् । तर उनकै वरिपरी रहेका सन्तोष विष्टले उठती धन्दा छाडेका छैनन् । कर्मचारीले निर्देशन नमान्नुको पछाडिका कारण सन्तोष विस्टले मिलाएको सेटिङले काम गरेको छ । विष्टले मन्त्रालय मातहतका कार्यालय प्रमुख तथा पदाधिकारीसँग मोटो रकम लिने गरेको स्रोतको दावी छ । केही समय पहिलेखाद्य संस्थानको वार्षिकोत्सवमा मन्त्री यादवले संस्थानका कर्मचारीले आफूलाई नटेरेको रोइलो गरेका थिए । तर सँगै गएका विष्ट भने आफूले गरेको धन्दा कर्मचारीले बताइदिने हुन् कि भन्दै अघिल्लो रो मा बसेर चोर औलाको संकेत गरिरहेका थिए । 

कृषि तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले समेत धान खरिदमा चासो नदिएको किसानको गुनासो छ । विशेष गरी पश्चिम नेपालमा यस पटक सबैभन्दा बढी धान फलेपनि संस्थानले समयमा नै धान खरिद नगरेको चर्को गुनासो आएको छ । यस्तै संस्थानले धान खरिद गरेका स्थानमा समेत संस्थानले राम्रो तौलने मेशिन प्रयोग गरेको छैन । जसका कारण किसान समस्यामा परेका छन् ।
एकाध सय बढी पाउने आशमा बाँके, बर्दियाका सस्थान शाखामा धान बिक्रीका लागि पुगेका किसान मर्कामा परेका छन् ।  संस्थानका प्रमुख रहेका श्रीमणिराज खनाल मन्त्री यादवलाई किन टेर्ने भन्दै गफ दिएर बस्ने गरेका छन् । उनले जातिय र क्षेत्रीय रुपमा समेत अपच हुने गाली मन्त्री यादवलाई गर्ने गरेका छन् । संस्थानको कार्यकक्षमा काँग्रेस निकटका कर्मचारी भेला पारेर खनालले त्यो मन्त्री को हो, त्यसलाई त्यसैको मान्छे लगाएर ठेगान लगाइन्छ भन्ने गरेका छन् । मन्त्रीको मान्छे भन्दै उनले विष्टको नाम लिने गरेका छन् । 

संस्थानका एक कर्मचारीकाअनुसार खनालका कारण संस्थान कोमामा जाने अवस्थामा पुगेको छ । उनले धान खरिद नगर्ने, मन्त्रीले जागिर खान नसक्ने भन्दै कुनै पनि काम नगर्न मातहतका कर्मचारीलाई समेत उर्दी गरेका छन् । सो विषयमा जिज्ञासा राख्दा उनले धान खरिद बारे मन्त्रालयले आवश्यक निर्देशन नदिएका कारण आफूहरुले मात्रै केही गर्न नसक्ने बताएका छन् ।

रमाइलो त के छ भने पश्चिम नेपालको धान तौलनका लागि मात्रै पनि भारतीय व्यापारी ल्याउनुपर्ने बाध्यता रहेको छ । उनीहरुलाई स्थानीय भाषामा  पल्लेदार भनिने गरिएको छ । भारतीय पल्लेदारले धान तौलिए वापत मोटो रकम माग्ने गरेको पीडित किसानको भनाइ छ । एकातिर संस्थानले उचित मूल्य नदिने, दिएपनि तौलने मेशिन नभएका कारण किसान मर्कामा परेका छन् ।

यस वर्ष विगत सात वर्षको तुलनामा नै बढी धान फलेको छ । सरकारको तथ्यांकअनुसार यस वर्ष करिब ६६ लाख मेट्रिक टन धान उत्पादन भएको बताइन्छ । स्वदेशमा नै खपतमा लागि पुग्ने धान उत्पादन भएपनि संस्थानले व्यवस्थापन गर्न नसक्दा समस्या परेको किसानको भनाइ छ ।

कृषि विकास मन्त्रालयले भने धान खरिदको जिम्मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको रहेको जनाएको छ । सोही मन्त्रालयले हो धान खरिद गर्ने , के भएको छ, त्यो हामीलाई जानकारी हुने विषय भएन , कृषि विकास मन्त्रालयका एक अधिकारीले भने ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले धान खरिदका लागि आवश्यक निर्देशन संस्थानलाई दिइएको बताएका छन् । संस्थानले आवश्यक निर्णय गरेको छ, धान खरिद रोकिनुपर्ने कुने कारण छैन, उनले भने । मातृका यादवले धान खरिदका लागि आवश्यक निर्देशन संस्थानलाई दिइएको बताएका छन् । संस्थानले आवश्यक निर्णय गरेको छ, धान खरिद रोकिनुपर्ने कुने कारण छैन, उनले भने । कर्मचारीले तोकेको काम नगरे उसलाई कारवाही गरिने मन्त्री यादवको भनाइ छ । तर व्यवहारमा भने त्यस्तो देखिएको छैन । 

किसानले भने धान बेच्न नपाएर हैरान भएका छन् ।  धान तौलने मेशिन नभएका कारण पनि किसान समस्यामा परेका छन् । मध्य तराईका बारा , पर्सा, रौतहटलगायतका जिल्लामा पनि किसानले उपयुक्त मूल्यमा धान बेच्न पाएका छ्रैनन् । मंसिर महिना मात्रै धान बेच्ने किसानलाई समस्यामा पारेर संस्थान भने चुपचाप बसीरहेको छ । धान खरिदका बारेमा संस्थानका प्रमुख खनाल भने क्षमता अनुसार सबै क्षेत्रमा धान खरिद भइरहेको दावी गर्छन । आफूले सबै तिर मिलाएको भन्दै उनले मन्त्रालयको निर्देशन नभएको भने पटक पटक बताएका छन् ।  
 

७ बर्ष अगाडि

प्रतिक्रिया