इजरायल रोजगारी : करिब २८ सय आवेदन नक्कली, योग्य १ हजार ४ सय कामदार छनोट गरिने

४ बर्ष अगाडि

काठमाडौं - इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेश गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन फारम अस्वीकृत गरेको थियो ।

संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका अनुसार ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका थिए । तर, परीक्षामा ७ हजार ९ जना मात्रै सहभागी हुन योग्य ठहरिएका थिए ।

विभागका अनुसार भदौ २८ गते भएको परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए भने कागजपत्र प्रमाणीकरण भएकामध्ये ६९२ जना अनुपस्थित रहेका थिए । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियो ।

परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १३९५ जना महिला र ६४४ जना पुरुष छन् । अंग्रेजी भाषा परीक्षामा उत्तीर्णमध्ये १ सय ८६ जना कम तौल तथा कम उचाइका पाइएको बताइएको छ । भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता लिइनेछ । अन्तरवार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ ।

छनोट भएकाहरुको सूची इजरायल सरकारलाई पठाइनेछ । इजरायलले सो सूचीबाट कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको छनोट गर्नेछ । छनोट प्रक्रिया सकिएपछि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि जान पाउनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया