गैँडा चोरीको अभियोगमा फरार व्यक्ति पक्राउ, माग अनुसारका मोटरसाइकल चोरी

४ बर्ष अगाडि

काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् । निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मुगुको साविक मुगु गाविस–९ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ लामा रहेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०७६ भदौ ३१ गते निकुञ्जको बाँदरझुला पोष्टको मर्दीघोलमा तस्करले गैँडा मारेका थिए । 

उक्त घटनाको अनुसन्धानका क्रममा १५ जना संलग्न रहेको खुलेको थियो । त्यसमध्ये पाँच जना यसअघि नै पक्राउ परेका थिए । अधिकारीका अनुसार फरार १० मध्ये निज लामा पक्राउ परी पुर्पक्षका लागि भरतपुर कारागार चलान गरिएका हुन् । 

माग अनुसारका मोटरसाइकल चोरी
मोटरसाइकल चोरी गर्ने गिरोहले माग अनुसारका मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसारको मोटरसाइकल चोरी गर्ने गरेका हुन् ।

मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्ने क्रममा बिहीबार यहाँ आयोजित कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारको मात्रै मोटरसाइकल चोरी गर्ने गरेको पाइएको बताए ।

कार्यालयले विगत एक महिनादेखि सुरु गरेको अप्रेसन माइक चार्ली अभियानका क्रममा पक्राउ परेका १४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । यसक्रममा आठ मोटरसाइकल र रु ९१ हजार नगदसमेत बरामद गरिएको अधिकारीले जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया