ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र, त्रिशूलीमा कार खस्दा तीन बेपत्ता

४ बर्ष अगाडि

काठमाडौं - बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि र सहायक ठेकेदार अधकल्चो काम छाडेर सम्पर्कविहीन बनेपछि आयोजना अलपत्र पर्नाका साथै नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

लाम्पाटाबाट दरवाङसम्म आठ किलोमिटर खण्डसडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा विसं २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयले जनाएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन प्याकेजमा स्तरोन्नति भइरहेको छ ।

वि.स. २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६० प्रतिशतमात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक घाइते
इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।
 
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहनुभएको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।
 
कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइउको छ । कारसहित उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया