अधिकारक्षेत्र मिचेर सम्झौता गरेका धितोपत्र बोर्डमा भागाभाग, विज्ञप्ति निकालेर कमजोरी छोप्ने प्रयास

४ बर्ष अगाडि

आफ्नो अधिकारक्षेत्र मिचेर आन्दोलनरत पक्षसँग सम्झौता गरेका  धितोपत्र बोर्डमा खैलाबैला मच्चाएको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग सम्बन्धित मागका विषयमा सहमति गरेपछि बोर्डमा खैलाबैला मच्चिएको हो । सहमति भएको २४ घण्टामा  बोर्डका कर्मचारीले आफूहरुलाई बन्धक बनाएर सहमति गरेको प्रचार गरेको भन्दै विज्ञप्ती निकालेका छन् । 

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै बोर्डका अधिकारीहरुलाई गैरकानूनी र आपराधिक ढंगले पूँजीबजार सुधार संघर्ष समितिका नाममा केही व्यक्तिले गालीगलौज गर्दै कार्यालयभित्रै बन्धक बनाई जबरजस्ती सहमति गराइएको र त्यसको दुष्प्रचार गरी बजारबाट लाभ लिने काम भएको भनेका छन्।

'मिति २०७८ /०६/०५ र २०७८ /०६/०६ मा नेपाल धितोपत्र बोर्डको खुमलटार स्थित कार्यालयमा केही लगानीकर्ता बताउने समूहबाट आफ्ना माग राख्ने भन्दै धितोपत्र बोर्डका कर्मचारी तथा पदाधिकारीहरुलाई कार्यालय समयभन्दा पछि कार्यालयको प्रवेशद्वारमा अवरोध गरी कार्यालयभित्र नै बन्धक बनाइ कर्मचारीहरु प्रति गरिएको व्यवहार तथा प्रयोग गरिएको भाषाले यस नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन तथा बोर्डका सम्पूर्ण कर्मचारीहरुलाई दुःखित बनाएको र सो कार्य प्रति यस संगठन उक्त गैरकानुनी कार्य प्रति खेद प्रकट गर्दछ ।' संगठनका सचिव राजाराम दुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'बोर्डको नीतिगत निर्णयको नेतृत्व गर्ने बोर्ड अध्यक्षको अभावमा कुनै पनि नीतिगत निर्णय गर्न नसक्ने अवस्थामा बोर्डको कर्मचारीहरुलाई कार्यालयमा बन्धक बनाउने र अमर्यादित तथा अभद्र शव्दको प्रयोगले सम्पूर्ण लगानीकर्ता तथा समग्र पुँजी बजारको हितमा कार्य गरिरहेका कर्मचारीहरुको आत्मबल कमजोर बनाउनुका साथै नियमन निकायको गरिमालाई समेत आघात पुर्याएको छ । यस्ता गतिविधिहरुले बोर्डका कर्मचारीहरुको जीउज्यानमा सुरक्षाको जोखिम बढाएकोले कर्मचारीहरुको उचित सुरक्षाको व्यवस्था गरी सुरक्षित कार्यवातारणको प्रवन्ध गर्न तथा कानुनी रुपमा संगठित लगानीकर्ताका संघ/संस्थाहरुमार्फत मात्र लगानीकर्ताहरुको समस्या समाधान गर्ने व्यवस्थित प्रणालीको विकास गर्न बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकाय समक्ष माग गर्दछौ ।' 

 लगानीकर्ताको नाममा अराजक तथा आपराधिक गतिविधि भएको भन्दै त्यस्तो काम गर्ने व्यक्ति कानुनी कार्वाहीको दायरामा ल्याउन बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ ।
विज्ञप्तीमा सम्पूर्ण कर्मचारीहरुको इमान्दारीतामाथि आक्षेप लगाउने तथा तथ्यहिन प्रचार गरी कर्मचारीको मनोवल कमजोर पारी पुँजी बजार जस्तो संवेदनशील क्षेत्रको नियमन निकायलाई कमजोर बनाई बजारबाट अबान्छित लाभ लिन प्रयत्न गर्ने व्यक्ति तथा समूहलाई बल पुग्नेप्रति चनाखो हुन सम्पूर्ण सरोकार पक्षसँग अपील समेत गरिएको छ।

सुधार संघर्ष समितिको नाममा हिजो लगानीकर्ताको एक समूहले धितोपत्र बोर्डसँग सहमति भएको  लिखित सहमतिपत्र सार्वजनिक गरिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया