मेयर र प्रमुख प्रशासकीय अधिकृतको लडाईले जनकपुरधाम उपमहानगरका कर्मचारीले तीन महिनादेखि तलब खान पाएनन्

४ बर्ष अगाडि

नयाँ आर्थिक वर्षको खाता सञ्चालन गर्न नसक्दा चालू आर्थिक वर्षमा जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कारोबार ठप्प भएको छ । 

गत आर्थिक वर्षको आन्तरिक लेखा परिक्षण नगरेको कारण कोष तथा लेखा नियन्त्रण कार्यालयबाट खाता सञ्चालन नहुँदा नयाँ आर्थिक वर्ष शुरु भएको २ महिना वितिसक्दा समेत जनकपुरको आर्थिक कारोबार ठप्प भएको हो । 

स्नीय तहको आन्तरिक लेखा परीक्षण विवरण प्राप्त गरेपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले सम्बन्धित स्थानीय तहको खाता नयाँ आर्थिक वर्षका लागि नवीकरण गराउने प्रावधान छ । 

नगर प्रमुख लालकिशोर साहले अघिल्लो आर्थिक वर्षको आन्तरिक लेखा परीक्षण फाइल पठाउन ढिला गरेका कारण नगरका आर्थिक गतिविधि ठप्प भएको वडाध्यक्षहरु बताउँछन् । जनकपुरधाम उपमहानगर–७ का वडा अध्यक्ष जानकीराम साहका अनुसार नगर परिषदको पछिल्लो निर्णयअनुसार एकीकृत वित्तीय विवरण तयार गरी कोष तथा लेखा नियन्त्रक कार्यालयमा आन्तरिक लेखा परीक्षणको प्रतिवेदनसहित पठाउनुपर्नेमा त्यो नगरेका कारण उपमहानगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को खाता सञ्चालन हुन नसकेको बताए ।

नगर प्रमुख लालकिशोर साहले नगरभित्रका योजनाहरु हालसम्म पनि छनौट गर्न नसक्दा समस्या भएको कर्मचारीहरु बताउँछन् । जसले गर्दा उपमहानगरको खाता नवीकरण हुन सकेको छैन भने कर्मचारीहरुले तलबसमेत पाउन नसकेको अवस्था छ । 

वडा नम्बर १० का अध्यक्ष मिथिलेश लाल कर्णले वडाको योजनाहरु परिषदमा राखिसके पनि नगर प्रमुख लालकिशोर साह र उपनगर प्रमुख रीता मिश्रले आफ्ना योजनाहरु अनुमानित रकमसहित छनौट गर्न नसकेको कारण समस्या भएको बताए।

उपमहानगरपालिकाका एक कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत विनोद खड्का र नगर प्रमुख लालकिशोर साह बीचको मतान्तरले गर्दा पनि नयाँ आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि उपमहानगरको आर्थिक कारोबार हुन नसकेको बताए ।

नगर प्रमुख लालकिशोर साहले नगर परिषद्को बोर्डमा छलफल नै नभएका विषयलाई समावेश गर्न खोजेपछि प्रमुख प्रशासकीय अधिकृतले आपत्ति जनाएको कर्मचारी स्रोतको भनाइ छ । करारमा कर्मचारी भर्ना गर्ने, आफूले चढ्दै आएको डेढ करोड मूल्य बराबरको गाडी मर्मतका लागि ४८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने लगायतका शीर्षकमा नगरप्रमुख साहले रकम छुट्याउन दबाब दिएको तर प्रमुख प्रशासकीय अधिकृत खड्काले बोर्ड बैठकबाट पारित गरेर मात्रै निकासा दिन मिल्ने जनाएपछि खाता नवीकरणको प्रक्रिया अघि बढ्न नसकेको बताइन्छ ।

नयाँ आर्थिक वर्षको खाता सञ्चालन हुन नसक्दा कर्मचारीहरुले तीन महिनादेखिको तलब खान पाएका छैनन् भने औषधि तथा शैक्षिक सामग्री लगायत उपमहानगर तथा वडा कार्यालयका अन्य आर्थिक कारोबारसमेत ठप्प भएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका प्रमुख वीरेन्द्र कुमार मिश्रले आर्थिक वर्ष सकिएपछि खाता नवीकरणबिना सम्बन्धित सरकारी कार्यालयले आर्थिक कारोबार गर्न नपाउने बताए । 
नयाँ आर्थिक वर्षका लागि उपमहानगरपालिकाको आर्थिक कारोबार फुकुवा नहुँदा चाडपर्वमा पनि तलब नपाइने हो कि भन्ने चिन्तामा कर्मचारीहरु छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया