प्रचण्डको जवाफ पछि नेकपामा नयाँ उत्साह

७ बर्ष अगाडि

काठमाडौँ – पार्टी एकता भएपछि बसेको नेकपाको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको जवाफले पूर्व एमालेका नेताहरु समेत एकीकृत पार्टीको नेता हुन लायक व्यक्तित्व भएको टिप्पणी गरेका छन् । प्रचण्डले पार्टीमा एकताको खाँचो रहेको र कोही कसैलाई खुइल्याउने भन्दा पनि मिलेर राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिएका थिए । पूर्व एमालेका नेताहरु नै एक आपसमा भिडिरहेको बेला अध्यक्ष प्रचण्डले पार्टीलाई एकीकृत बनाउने सुत्र मात्रै दिएनन्, सबैलाई मिलाएर लैजान सक्ने खुबी समेत रहेको उच्च राजनीतिक क्षमता प्रदर्शन गरे । 

पछिल्लो पटकको स्थायी समितिको बैठकमा पूर्व एमालेका नेताहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना मात्रे गरेनन्, पार्टी सिध्याएको आरोप समेत लगाएका थिए । पूर्व एमालेहरु सरकार र पार्टी प्रति चर्को रुपमा आपत्ति जनाउँदै मैदानमा नै घम्सा घम्सी गरिरहेको बेला पूर्व माओवादीका नेताहरुले भने सरकारको रचनात्मक आलोचना गरे र सुधार गरेर जानुपर्नेमा जोड दिए । पछिल्लो समय पार्टीमा पेलेको भन्दै माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सरकार र पार्टी विरुद्ध मोर्चाबन्दी कसेका थिए । 

उनीहरुले सचिवालयको बैठक समेत बहिस्कार गरेका थिए । सचिवालय बैठक नै बहिस्कार गरेर पार्टीलाई अप्ठ्यारोमा पारेको सर्वत्र चर्चा भइरहेको बेला अध्यक्ष प्रचण्डलाई पार्टीलाई एक बनाउने सूत्र मात्रै पेश गरेनन्,  विषम अवस्था निम्त्यिाएर भन्दा समस्याको समाधान गरेर जानुपर्नेमा जोड दिए । प्रचण्डले सबैलाई मिलाएर लैजाने सूत्र सहितको प्रस्तुती बैठकमा पेश गरेपछि पूर्व एमालेहरुमा समेत खुसीको सञ्चार भएको छ । पछिल्लो पटक प्रचण्डले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाका कारण पनि उनी पार्टी भित्र सर्वमान्य नेता बन्दै गएका छन् । उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई सफल बनाउनुपर्ने, कटुता साधेर होइन मिलेर जानुपर्ने धारणा राखेका थिए । विशेष गरी स्थायी समितिको बैठकमा माधव नेपाल पक्षका नेताहरुले सरकारको चर्को आलोचना गरेका थिए । उनीहरु पार्टी पार्टी जस्तो नभएको, गुटको संरक्षण गरिएको, फरक विचारलाई पेल्न खोजिएको जस्ता धारणा राखेका थिए । 

स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले बेमेल खडा गरेर होइन एकता कामय गरेर मात्रै एकताको मूख्य कार्यभार पूरा गर्न सकिने धारणा राखेका थिए । उनले पार्टी एकता गर्दा आफूलाई अनेकन खालका प्रलोभन आएको, शान्ति प्रक्रियामा बाँकी रहेका काम पूरा गर्दा आइपर्ने जोखिम देखाएर तसाईएको भन्दै कुनै पनि प्रलोभनमा नपरी एकता गरेकाले त्यसलाई सफल पारेरै छाडिने प्रतिवद्धता जनाएका थिए । उनले आफूले देश जनता र पार्टीको हित बाहेक अरु नहेरेको भन्दै आलोचनाको नाममा आलोचना गर्ने, असफलता मात्रै देखाएर सरकार र पार्टीलाई कमजोर बनाउने कार्य कोही कसैबाट पनि हुन नहुने धारणा राखेका थिए । 

अध्यक्ष प्रचण्डले सन्तुलित तवरले पार्टीको प्रतिरक्षा र सरकारको सकारात्मक कामको प्रचार गर्न पार्टी नेतृत्व र नेताहरुलाई आग्रह गरेर उच्च राजनीतिक संस्कार भएको नेताको रुपमा परिचय दिएको नेताहरुले टिप्पणी गरेका छन् । प्रचण्डले स्थायी समितिको बैठकमा दिएको सकारात्मक अभिव्यत्तिले पार्टी एकताको बाँकी काम र सरकारको काममा समेत प्रभावकारिता आउने विश्वास गरिएको छ । त्यसो त प्रधानमन्त्री अ‍ोलीले पूर्व माओवादी केन्द्रका नेताहरुसँग छलफल नै नगरी आफूखुसी निर्णय गर्ने गरेका छन् । उनले पार्टी एकताको भावलाई विचार नगरेको पनि पाइएको छ । राजनीतिक नियुक्ति तथा महत्वपूर्ण अवसरमा पार्टी नेता माधव नेपालले भने जस्तै गुटगत मानसिकता राखेको पाइएको छ । ओलीमा राजनीतिक भन्दा पनि बढी गुटगत मानसिकता देखिएको छ । उनले कुनै पनि विषयमा एकताको मर्म र भावनालाई आत्मसात् गर्न नसकेको पाइएको छ । उनले नेता कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर निर्णय गर्ने भन्दा पनि तत्कालीन लाभका आधारमा मात्रै निर्णय गर्ने गरेको पाइएको छ । यसले एकता प्रक्रियालाई सबल र सक्षम होइन थप विश्रृखलित बनाउने देखिएको छ । 
ओलीले सचिवालयमा राखेका मानिसहरुको व्यवहार पूर्व एमालेलाई त नहेर्ने खालको रहेको छ भने पूर्व माओवादीको परै जाओस् । हालै उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा गरेको नियुक्तिबाट पनि सोही बुझ्न सकिन्छ । प्राज्ञहरुको नियुक्तिमा ओलीले पूर्व एमाले र पञ्चहरुलाई मात्रै ल्याएका छन् । त्यसमा कुनै पनि पूर्व माओवादीका प्राज्ञ परेका छ्रैनन् । पूर्व एमालेलाई त पेले पेले । पेलाईमा पूर्व माओवादीका प्राज्ञ समेत परेका छन् । ओलीले झापाका भन्दा अरु कोही पनि मान्छे नदेख्ने गरेको पाइएको छ । यस्तो व्यवहार र प्रवृत्तिले कोही कसैको पनि हित नगर्ने जानकारहरुको भनाइ छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया