अग्रिम टिकट बुकिङ खुल्दै, काठमाडौं छाड्नेको संख्या गतवर्षको भन्दा दोब्बर हुने अनुमान

४ बर्ष अगाडि

काठमाडौं - यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट खुलाउने तयारी गरेको छ । विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका लागि यातायात व्यवसायीहरूको प्रतिनिधि संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सदस्यहरूलाई बिहीवार विभागमा डोकेको छ ।

दशैंको समयमा काठमाडौं उपत्यका छाडेर गाउँ फर्किनेको संख्या ह्वात्तै बढ्ने भएकाले विभागले हरेक वर्ष अग्रिम टिकट खुलाउने गरेको छ । प्रत्येक वर्ष करीब २० लाखले काठमाडौं छाड्ने गरेकोमा अघिल्लो वर्ष कोभिड संक्रमणको त्रासका कारण टिकट काटेर ५ लाख मात्रै बाहिरिएका थिए । 

यातायात व्यवसायीले सीट संख्याभन्दा बढी यात्रु लगेकाले उक्त संख्या करीब ८ लाख भएको अनुमान गरिएको थियो । कोभिड संक्रमणको त्रास कायमै रहेको भए पनि यस वर्ष दशैंका लागि काठमाडौं छाड्नेहरू गतवर्षको भन्दा दोब्बर हुने अनुमान गरिएको विभागले जनाएको छ ।

विभागले यसअघि सोमवार महासंघका प्रतिनिधि र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईलाई डाकेर भदौ १० गतेदेखि अग्रिम टिकट खुलाउन अनुरोध गरेको थियो । तर, महासंघले व्यवसायीसँग छलफल गर्नुपर्ने भन्दै तत्काल अग्रिम टिकट खुलाउन आनाकानी गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया