किन घटे वैदेशिक रोजगारीमा जाने युवा, पर्न सक्छ अर्थतन्त्रमा नकारात्मक प्रभाव

७ बर्ष अगाडि

काठमाडौ – पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा ३५ प्रतिशतले कमी आएको छ । यसको प्रभाव आगामी आर्थिक वर्षहरुमा नेपाल भित्रने विप्रेषणमा समेत पर्ने देखिएको छ ।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिएको मलेसियामा कामदार पठाउने वा नपठाउने भन्ने विषयमा सरकार र म्यान पावर व्यवसायीबीचको विवाद समाधान हुन सकेको छैन । सरकारले श्रम सम्झौताअनुसार नयाँ व्यवस्थाअनुसार कामदार पठाउने बताउँदै आएको छ । तर म्यान पावर व्यवसायीले भने विगतमा श्रम सम्झौता भएका र प्रवेशाज्ञा समेत आइसकेका कामदारलाई पूरानै मूल्य तथा मान्यताका आधारमा पठाउन पाउनुपर्ने माग राख्दै आएका छन् ।

सरकार र व्यवसायीको विवादका कारण करिब २० हजार नेपाली युवा प्रवेशाज्ञा आएर पनि मलेसिया उड्न पाएका छैनन् । यस्तै रोजगारीको अर्को प्रमुख गन्तव्यको रुपमा रहेको कतार लामो समयदेखि छिमेकी मुलुकको नाकाबन्दीसँग जुधिरहेको छ । सोही कारण पनि पछिल्लो दिनमा कतारबाट कामदारको माग आउने क्रम घट्दै गएको छ । त्यसको प्रभाव नेपाली युवामा परेको छ । कामदारको माग आएको भएपनि दक्ष कामदारको माग बढी आउन थालेको छ । त्यसकारण अदक्ष कामदार भने रोजगारीका लागि विदेश जान नपाउने अवस्थामा रहेका छन् ।

कामदारको माग नै कम आएपछि आगामी केही महिना देखि नै उनीहरुले स्वदेश पठाउने विप्रेषणमा नकारात्मक प्रभाव पर्न सक्ने देखिएको छ । सरकारले पछिल्लो पटक जापानामा रोजगारीका लागि कामदार पठाउने तयारी गरेको छ । जापान नेपाली कामदारका लागि नयाँ गन्तव्य हुन सक्छ । तर जापान जाने युवा तथा रोजगारीमा जान चाहनेले भने निश्चित तालिम लिएको तथा दक्षता हासिल गरेको हुनुपर्ने प्रावधान रहेको छ । त्यसको प्रक्रिया सुरु हुन समेत केही समय लाग्ने छ ।

खाडी मुलुकमा देखिएको आन्तरिक खिचातानीका कारण पनि रोजगारीको मागमा कमी आएको बताइन्छ । यस्तै महत्वपूर्ण क्षेत्रमा mस्वदेशी नागरिकलाई नै रोजगारी दिने नीति लिइएका कारण पनि रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छ ।

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७१÷७२ मा चार लाख ४८ हजार ८९ जनालाइृ श्रमसव्किृति दिएको थियो । यस्तै आव २०७२÷७३ मा तीन लाख ६६ हजार ५५६ जनाले श्रम स्वीकृति पाएका थिए ।

आव २०७३÷७४ मा तीन लाख ४५ हजार ५३० जनाले त्यस्तो स्वीकृति पाउँदा आव २०७४÷७५ मा तीन लाख २३ हजार ८६८ जनाले स्वीकृति पाएका थिए । चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै ८७ हजार १६७ जनाले मात्रै स्वीकृति पाएका छन् । यो तथ्यांकबाट पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको पाइएको छ ।

विभागका प्रवक्ता भोलानाथ गुरागाईकाअनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको जानकारी दिए । उनलेअ ाधार वर्ष २०७१÷७२ बनाउँदा हरेक वर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको बताए ।

पछिल्लो समय साउदी अरब र कतारमा आन्तरिक द्वन्द्व चुलिएको छ  । कतारमा नाकाबन्दी रहेको छ भने साउदीमा राजपरिवारका सदस्यबीच शक्ति संघर्ष चर्किएको छ । यस्तै विगत ७ महिनादेखि नेपाली कामदार मलेसिया जान पाएका छैनन् । जसका कारण पनि कामदारको माग घटेको हो । यसले मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने सहजै अनुमान गर्न सकिन्छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया