अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग, जिपको ठक्करबाट एकको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । 

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पु¥याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेको हो ।

महासङ्घका महासचिव सरोज सिटौलाले अवरुद्ध सडक दुईतर्फी सञ्चालन नहुँदा दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्न समस्या हुने बताए । राजमार्गमा एकतर्फी सञ्चालनमा आएका सवारी साधनलाई दुईतर्फीरूपमा सञ्चालनको व्यवस्था मिलाउनसमेत महासङ्घले सरकारसँग जोडदार माग गरेको छ ।

जिपको ठक्करबाट मृत्यु
बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् । 

बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स४प ९१०५ नंको मोटरसाइकलमा सवार राईलाई ठक्कर दिएको थियो ।

बलेरोको ठक्करबाट घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगेर उपचार गर्ने क्रममा घाइते राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । 

चालक र बोलेरोलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले नियन्त्रणमा लिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया