पृथ्वी राजमार्ग अवरुद्ध, पहिराले घर पुरिँदा तीनको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुरोध गरेको छ । 

पहिराले घर पुरिँदा तीनको मृत्यु
गुल्मीमा पहिराले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उनकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पुरिएकाको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् । 

शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । तिलक, उहाँकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका र उनीहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डेले जानकारी दिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया