निरन्तर ओरालो लागेको सेयर बजार विस्तारै लयमा आउने संकेत देखिएको छ । सोमबार ११४.०२ अंकले घटेर २६९८.२४ विन्दुमा झरेको नेप्से सूचक मंगलबार १३.८३ अंकले बढेर २७१२.०७ विन्दुमा आइपुगेपछि विस्तारै लय पक्डने संकेत देखिएको हो । साताको दोश्रो दिन आज ७ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
केन्द्रीय बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा तोकेको कारण देखाउँदै ठूला लगानीकर्ता आन्दोलनमा होमिएपछि सेयर बजारमा व्यापक गिरावट आएको थियो । तर नेप्से बढन थालेपछि बजारमा सकारात्मक संकेतहरु देखिएका छन् ।
मंगलबार नेप्से ०.५१ प्रतिशतले बढ्दा सेन्सेटिभ परिसूचक २.३६ अंकले बढेर ५०८.६२ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २२३ वटा कम्पनीको एक करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको सेयर घटेको छ ।
यस दिन २२३ कम्पनीको १ करोड ५३ लाख भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १३ मध्ये ९ समूह वृद्धि भएकोमा सबैभन्दा धेरै वृद्धि टुरिजम समूहमा भएको छ ।
कारोबारका हिसावले अरुण भ्याली हाइड्रोपावर २५ करोड ४४ लाख रुपैयाँभन्दा बढी कारोबार गर्दै अग्रस्थानमा छ ।
मंगलबार मनकामना स्मार्ट लघुवित्तको भाउ सर्किट लाग्ने ९.९९ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया