प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट पारित भएर सन्देशसहित आएको विनियोजन विधेयक सभामा टेबुल गरेका हुन् ।
संसदमा हो हल्ला गर्दै आएको प्रमुख प्रतिपक्ष एमालेले भने आजको राष्ट्रियसभा बैठकमा पनि होहल्ला कायम राखेको थियो । बैठकको सुरुमै एमाले साँसदहरु सिटबाट उभिएर विरोध जनाइरहेको अवस्थामा नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक टेबुल गर्न सचिवलाई समय उपलब्ध गराएका थिए ।
चुनावमा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भई अहिले नेकपा (एकीकृत समाजवादी) मा लागेका १४ सांसदलाई पार्टीले कारबाही गरेकोले सभामुखले पदमुक्त भएको सूचना नटाँसेको भन्दै एमालेले संसदमा अबरोध गर्दै आएको छ ।
राष्ट्रियसभा सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभाका एमालेबाट निर्वाचित १४ सांसदलाई सभामुखले पदमुक्त भएको सूचना नटाँसेसम्म विरोध जारी रहने बताएका थिए ।
अध्यक्ष तिमिल्सिनले भने आफ्ना कुरा राखिसकेपछि बसेर सभाको कारबाही अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए ।
राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया