स्नातक तहको अध्ययन पूरा गरेपछि सजना पक्कालाई आफ्नो अध्ययनअनुसारको काम गरी आत्मनिर्भर बन्ने रहर भइरह्यो। कोरोनाभाइरस महामारीको समयमा उनले घरमै बसेर यूट्यूबमार्फत केक र चकलेटहरू बनाउन सिकिन्। बनाएर बेचिन् र पैसा पनि कमाइन्।
कमाएको पैसा के गर्ने भन्ने सोचिरहेको बेला शेयर बजार उपयुक्त हुने ठानेर उनले आइपीओमार्फत यात्रा सुरु गरिन्। पछिल्लो ६ महिनादेखि दोस्रो बजारमा समेत सक्रिय उनी शेयरमा राम्रो आम्दानी गरेकी छन् । आम्दानीको लगानी गरी थप आम्दानी गर्न शेयर बजार रोजेको उनको भनाई छ ।
२५ वर्षीय कामना शर्मा पनि थप लगानीसहित पछिल्लो केही महिना यता शेयर बजारमा सक्रिय रहेको बताउँछिन्। १५ वर्ष अगाडि थोरै लगानी सहित पुँजी बजारमा पाइला टेकेको बताउने दुर्गा तिवारी आफ्नो आर्थिक हैसियतसँग निकै खुसी छिन्। उस्तै खुसी छ सृजना सुवेदीको पनि । उनीहरुको खुसीको कारण शेयर बजार हो ।
सजना, कामना, दुर्गा र सृजनाको जस्तै सेयरबजारमा लागेर राम्रो आम्दानी सँगै खुसी लिने महिलाहरुको संख्या अहिले नेपालमा हजारौँ छ । नेपालमा भदौसम्म ४५ लाख ४७ हजारको डिम्याट खाता मध्ये महिलाहरुको संख्या ४२ दशमलव २५ प्रतिशत पुगेको छ। मेरो शेयर खातामा पनि करिब ४५ प्रतिशत खाता महिलाको नाममा रहेको बताइन्छ।
पछिल्लो समय शेयर सम्बन्धी सम्पूर्ण काम घर वा अफिस जहाँ बसेर पनि गर्न सकिन्छ । शेयर किनबेच गर्न कतै धाउन नपरेपछि, कुनै पनि ब्याङ्कमा पैसा तिर्न परे कनेक्ट आइपीएसबाट अनलाइनमै गर्न सकिने र आफ्नो खातामा खरिद गरेको शेयर आइपुगेको नपुगेको पनि अनलाइनमै हेर्न सकिने भएपछि कारोबारमा थप सजिलो भएको छ ।
शेयरसम्बन्धी सम्पूर्ण काम अनलाइन नै गर्न सकिने भएकाले पनि पछिल्लो समय यसप्रति महिलाहरूको आकर्षण बढेको धेरैको भनाइ छ।
शेयर बजारमा रमाइरहेका महिलाहरू अन्य क्षेत्रले भन्दा यो क्षेत्रले आफूलाई आर्थिक रूपमा अब्बल बनाएको अनुभव सुनाउँछन्। कुनै पनि उमेर वा पृष्ठभूमिको व्यक्तिले निर्बाध रूपमा जहाँ रहेर पनि शेयरसम्बन्धी कारोबार गर्न सकिने भएपछि शेयर बजारमा महिला उपस्थिति बढेको तथ्याङ्कले समेत देखाएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सुरेश न्यौपाने बताउँछन्।
अवसर सँगसँगै जोखिमले भरिएको यो क्षेत्रको यात्राको सुरुवात थोरै रकमबाट पनि गर्न सकिने हुँदा प्राथमिक शेयर बजार उपयुक्त प्रवेश मार्ग हुन सक्ने उनीहरू बताउँछन्।
आफूसँग भएको थोरै थोरै पुँजी प्राथमिक बजार अर्थात् आइपीओमा लगानी गर्ने र त्यसको शेयर विक्री गरी पुँजी निर्माण गर्दै सो पुँजी दोस्रो अर्थात् सेकेन्डरी मार्केटमा लगानी गर्ने गरी मनग्गे आर्जन गर्ने महिला लगानीकर्ताहरू यो पटक ठूलो सङ्ख्यामा देखिएको नेपाल इम्भेष्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बताउँछिन्।
महिलाको नाममा डिम्याट खाता बढ्नुलाई सकारात्मक ठान्ने उनी खातावाल सबै महिलाहरू स्वयम् लगानी वा व्यापारमा कति संलग्न र सक्रिय छन् भन्ने अध्ययन हुन नसकेको बताउँछिन्।
उनी भन्छिन् 'कतिपय महिलाहरूका नाममा भएका खाता उनीहरूका बुवा‚पति वा छोराले चलाउँछन्। कतिलाई शेयर वा शेयर बजारको अवस्थाबारे कुनै जानकारी नै भएको हुँदैन।'
अन्य कुनै क्षेत्रमा जीवन भरी मिहिनेत गर्दा पनि हुन नसक्ने आर्थिक उपलब्धि शेयर बजारबाट केही महिना वा केही दिनमै हासिल गर्न सकिने अनुभव छ उनीहरूको।
आर्थिक रूपले सशक्त महिलाको परिवार र समाजमा हुने व्यवहारको चर्चा गर्दै कमसेकम आफ्नो‚ बालबच्चा र परिवारका अन्य सदस्यहरूको डिम्याट खाता खोलेर आइपीओ मार्फत धेरै भन्दा धेरै महिलाहरू सानै रकमबाट प्रवेश गरी आफू जस्तै लाभान्वित हुन सक्ने उनीहरू बताउँछन्।
एक जना लगानीकर्ता कामना शर्मा भन्छिन्, 'शेयर बजारमा कमाउने सम्भावना जति उच्च छ उतिकै उच्च छ गुमाउने जोखिम ।'
आफ्नो लगानीको सुरक्षाको प्रत्याभूतिका लागि शेयर बजारको नियमित उतारचढावको ख्याल गर्न पर्ने तथा लगानीको आधारभूत र प्राविधिक विश्लेषण गर्न पर्ने उनी बताउँछिन्।
तर नेपालको शेयर बजारमा त्यस्तो अध्ययन खासै काम आउन नसकेको उनको अनुभव छ। नेपालको शेयर बजार कहिले उकालो लाग्छ कहिले ओरालो लाग्छ भन्नै सकिन्न।
यहाँको राजनीति वा कुनै एउटा घट्नाका कारण शेयर बजारमा तरङ्ग पैदा गरिदिन्छ। त्यसैले बजार पछ्याउँदा जाति भएको मेरो अनुभव छ।'
कतिपय महिलाहरूलाई आफ्नै खातामा भएको शेयर बेच्न वा किन्न आफ्नो श्रीमान् बुवा वा दाजुसँग सल्लाह गर्न पर्छ।
आफ्नो निर्णयप्रति विश्वास गर्ने परिपाटी अझै विकास भइनसकेको ब्रोकर ४१ को नेतृत्व गरिरहेकी सरिता अधिकारी बताउँछिन्। यो क्रमले निरन्तरता पाउन नहुने उनको तर्क छ।
शेयर बजारले महिलाहरूलाई आर्थिक विषयमा जानकार मात्र बनाएको छैन उनीहरूलाई राम्रो वित्तीय शिक्षा समेत प्राप्त भइरहेको र यसले उनीहरूलाई आर्थिक स्वतन्त्रताको प्रशस्त अवसर दिएको जानकारहरू बताउँछन्।
प्रतिक्रिया