हिन्दू युवा सङ्घका अध्यक्षको हत्या आरोपी मेयरलाई सफाई

७ बर्ष अगाडि

काठमाडौँ– सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका रौतहटको कटहरिया नगरपालिकाका प्रमुख सियारामप्रसाद कुशवाहालाई सफाइ दिएको छ । 

न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज हिन्दू युवा सङ्घका तत्कालीन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका उनलाई सफाइ दिएको हो । 

आदेशमा भनिएको छ, “सर्वस्वसहित जन्मकैद गर्ने गरी २०७४ फागुन २५ गतेको फैसला मिलेको नदेखिएको यो हदसम्म फैसला केही उल्टी भई प्रतिवादी कुशवाहालाई अभियोग दावीबाट सफाइ पाउने ठहर छ ।” 

उनलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले तिवारीको हत्याको अभियोगमा जन्मकैदको फैसला सुनाएको थियो । अदालतको आदेशमा उहाँलाई सफाइ पाउने ठहरेकाले थुनामा राख्नुनपर्ने भए आजै थुनामुक्त गरिदन समेत भनेको छ । कुशवाहालाई वीरगञ्ज कारागारमा राखिएको थियो । तिवारीको २०६७ असार १२ गते साँझ वीरगञ्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो ।  
 

७ बर्ष अगाडि

प्रतिक्रिया