काठमाडौं- साहस उर्जा लिमिटेडले असोज ६ गते (बुधबार) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले कुल ७० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फन्ड र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिन्छ । साहजको आइपीओ असोज १० गतेसम्म भर्न सकिन्छ । उक्त अवधिमा सबै आइपीओ बिक्री नभएमा भने असोज २० गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सि–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ । इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आइपीओ बिक्रीपछि यसको कुल सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया