काठमाडौं - न्यूज पोर्टल इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले ‘सुप्रबल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् ।
२९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापासहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणाको निर्णय आइतबार सार्वजनिक गरेकी थिइन् ।
उक्त सूचीमा थापाको नाम ‘सुप्रबल जनसेवाश्री’ पदक पाउनेको १२औँ नम्बरमा छ । तर, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद । विगतमा मलाई पदकका लागि पटक-पटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु । यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ । सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’
उनले राज्यले सम्मान नै गर्नुहुन्न भन्ने नभई सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्ने बताएका छन् । ‘कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ,’ उनले लेखेका छन् ।
साथै कार्टुनिस्ट रवीन सायमीले पनि ‘प्रवल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । सायमीको नाम ‘प्रवल जनसेवाश्री’ पदक पाउनेको ६६औँ नम्बरमा छ ।
तर, सायमीले सरकारबाट घोषणा भएको उक्त विभूषण आफूले ग्रहण नगर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् । उनले लेखेका छन्, ‘सरकारले मलाई 'प्रवल जनसेवाश्रीुबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छ ।'
प्रतिक्रिया