सुनको लोभमा आफ्नै हजुर आमाको हत्या, श्रीमान‍्को हत्या आरोपमा श्रीमती पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - बझाङमा आफ्नै हजुर आमाको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

हजुर आमाको  हत्या गरेको आरोपमा बिहीबार पक्राउ परेका दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय सुवास जप्रेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । 

सुवास जप्रेलले भदौ २७ गते बिहान ८ देखि ९ बजेको समयमा हसिया प्रयोग गरी ८५ वर्षीया आफ्नै हजुरआमा रिखीदेवी जप्रेलको हत्या गरेका थिए । एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै गाडेको अवस्थामा ३० गते नै प्रहरीले शव फेला पारेको थियो । 

सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लगाएको १ थान सुनको मुन्द्रीको लोभले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरिक्षक रुपक खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै श्रीमान‍्को हत्या गरेको आरोपमा दाङमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । ५० वर्षीया छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका(९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो । 

सम्पत्तिको विषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया