करेन्ट लागेर एकको मृत्यु, ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

४ बर्ष अगाडि

काठमाडौं - ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ । 

सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको बताए । 

ट्रक दुर्घटनामा चालकको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । 

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा र कुहिनोमा चोट लागेको छ । ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो । मृतकको शव दमौली अस्पतालमा राखिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया