काठमाडौं - नेकपा एमालेका नेता योगे शकुमार भट्टराईले देउवा सरकार राष्ट्रियताका मुद्धामा चुकेको आरोप लगाएका छन् ।
सरकार बनेको दुई महिनासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्नु र विदेशी हस्तक्षेपका विरुद्ध चुइँक्कसम्म नबोल्नु देउवा सरकारको कमजोरी भएको उनको टिप्पणी छ ।
शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले देउवा सरकारलाई जतिसक्दो चाँडो विस्थापित गरेर एमालेको नेतृत्वमा चुनावमा जानुको विकल्प नभएको बताए ।
नेता भट्टराईले एमसीसीका विषयमा टिकाटिप्पणी गर्ने नागरिकलाई बोल्न नदिनु, सीमा विवाद बल्झँदै जानु, विदेशीका कारण नेपालीको मृत्यु हुँदा एक शब्द नबोल्नुले प्रधानमन्त्री देउवालाई पदमा बसिरहने नैतिक आधार नभएको दावी गरे ।
उनले एमसीसीबारे सरकारको धारणा नआइसकेको उल्लेख गर्दै सत्ता गठबन्धनमा रहेका दलको एसिसिबारे आधिकारिक धारणा बाहिर ल्याउन समेत माग गरे ।
नेता भट्टराईले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने प्रयास भइरहेको भन्दै त्यसलाई एमालेले स्वीकार गर्न नसक्ने स्पष्ट पारे । गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार ऐनप्रति लक्षित गर्दै नेता भट्टराईले प्रेसमाथि लगाइने कुनैपनि अंकुश एमालेका लागि मान्य नहुने बताए ।
प्रतिक्रिया