काठमाडौं - पोखरा महानगरपालिकाले गत आर्थिक वर्षमा ६६ प्रतिशत बजेट खर्च गरेको छ ।
कोरोना महामारीका कारण विकासका काम ठप्प हुँदा खर्च प्रभावित बनेको महानगरपालिकाले जनाएको छ । महानगरद्वारा यहाँ आयोजित वार्षिक समीक्षा कार्यक्रममा वित्त महाशाखा प्रमुख जयराम पौडेलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार चालुतर्फ ८७ प्रतिशत र पूँजीगततर्फ ५०.५ प्रतिशत मात्र खर्च भएको हो ।
गत आर्थिक वर्षमा विनियोजित कूल रु पाँच अर्ब ५१ करोड ८२ लाख ५३ हजार बजेटमध्ये रु तीन अर्ब ६८ करोड ८१ लाख २५ हजार खर्च भएको बताउँदै प्रमुख पौडेलले बजेट खर्चको अनुपातमा सबैभन्दा धेरै (९१.३७ प्रतिशत) शिक्षा महाशाखाले खर्च गरेको जानकारी दिए ।
उक्त महाशाखाले कूल रु एक अर्ब ३४ करोड ८५ लाख बजेटमध्ये रु एक अर्ब २३ करोड २१ लाख ८३ हजार रकम खर्च गरेको थियो । सबैभन्दा कम सामाजिक विकास महाशाखाले (४५.४४ प्रतिशत) खर्च गरेको छ ।
उक्त महाशाखामा रहेको कूल रु १० करोड २२ लाख ७१ हजार बजेटमध्ये रु चार करोड ६४ लाख ७१ हजार रकम मात्र खर्च भएको उनको भनाइ छ । प्रमुख पौडेलले भने, “पूर्वाधारतर्फको बजेट भने ४८.१ प्रतिशत खर्च भएको छ । कूल बजेट रु दुई अर्ब ६८ करोड ७७ लाख ६८ हजारमध्ये रु एक अर्ब २९ करोड २७ लाख ४५ हजार रकम खर्च भएको छ ।
गत आर्थिक वर्षमा करिब रु २६ करोड अनुमान गरिएको सम्पत्ति कर जम्मा रु सात करोडमात्र उठेको बताउँदै उनले बताए, “गत आवमा विज्ञापन र मनोरञ्जन कर शून्य हुनुका साथै ३५ करोड उठ्ने अनुमान गरिएको ढुङ्गा, गिट्टी, बालुवा कर रु २१ करोड ८० लाख सङ्कलन भएको थियो ।”
प्रतिक्रिया