आज विश्वकर्मा पूजा, सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

४ बर्ष अगाडि

काठमाडौं - महोत्तरीसहितका मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू–मैथिल परम्परा छ ।

पर्वका अवसरमा आज यस भेगका मेसिरेनरी पार्ट्सका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्मा पूजनोत्सव विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ । पर्वका अवसरमा ज्यावलबाट सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान÷पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गर्ने मैथिल परम्परा छ ।

पर्वका अवसरमा सेताम्य फुलेको आकृतिका अविश्वकर्माका प्रतिमा सबैजसो औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र गाउँनगर बस्तीका चोक÷चोकमा स्थापित गरिएका छन् । झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माले आफ्ना चार हातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल हातमा लिएको प्रतिमामा देखिन्छ । धेरैजसो ठाउँमा विश्वकर्मा पूजा पर्वका अवसरमा धार्मिक मेला आयोजना गरिएका छन् ।

सृष्टिकर्ता ब्रह्माका पुत्र मानिने विश्वकर्माको पूजाआराधनाले ज्यावलमा खिया नलाग्ने, टिकाउ हुने र सधैँ शुभ फल दिने विश्वास गरिन्छ । विश्वकर्मा राजा इन्द्रको सभाका विशिष्ट शिल्पकार मानिन्छन् । मिथिलामा नाचगान गर्दै उत्सव मनाइने परम्पराको यस पर्वमा यसपालि महोत्तरी जिल्ला प्रशासनले कोभिड–१९ महाव्याधिको सङ्क्रमणको सन्त्रास कायम नै रहेको हुँदा मेला, जमघट र नाचगानका समारोह आयोजनमा रोक लगाएको छ ।

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै
आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ ।

राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज सङ्क्रान्तिका दिनमा मनाइने चलनअनुसार यहाँ धुमधामका साथ मनाइने गरिएको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका कमलसिंह विकले बताए । उनले भने, “मानवलाई दुःख दिने पुतनालाई भगवान् श्रीकृष्णले मारेको दिनको सम्झनामा आज यहाँ बूढी पोल्ने पर्व निकै रमाइलोसँग मनाइँदै आएको छ ।”

सुदूरपश्चिममा भाद्र सङ्क्रान्ति अर्थात् भदौ १ गतेका दिन बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाङ्गाबिङ्गा काटेर पुतना बूढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइएको हुन्छ । उक्त प्रतीकलाई आज गाउँका सबै मिलेर जलाउने अर्थात् बन्दुनी जलाउने भनिने गरेको अर्का स्थानीयवासी दलबहादुर साउदले जानकारी दिए ।

उहाँका अनुसार बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ । यसैगरी उक्त बूढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । आजको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको बूढापाका बताउँछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया