विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा तालिवानी नेता गनी, को हुन् उनी ?

४ बर्ष अगाडि

एजेन्सी - तालिबानका सहसंस्थापक र अहिलेको अन्तरिम सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादर विश्वका सबैभन्दा प्रभावशाली १०० व्यक्तिको सूची परेको छन् । प्रतिष्ठित टाइम म्यागजिनले सार्वजनिक गरेको सन् २०२१ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूचीमा परेका हुन् । 

बरादरलाई टाइमले ‘शान्त, रहस्यमयी, सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ता कम दिने’ व्यक्तिका रुपमा चित्रित गरेको छ । बरादार तालिवानका संस्थापक नेतामध्येका एक हुन् । 

उनी तालिवानको राजनीतिक कार्यालयका प्रमुख हुन् । उनी तालिवान नेताहरू मध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए ।अफगानिस्तानमा तालिवान कसरी यति चाँडै पकड बनाउन सफल भयो ।

सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए ।

सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो ।सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन ।

त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो । सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्‍यो ।

उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए । पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए ।

सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो । उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे ।

इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो । उनी दुर्रानी समुदायमा भएको ठानिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया