नेपाल राष्ट्रबैंकले भोली बुधबार दुई हजार करोड बराबरको २ हप्ते रिपो उपकरण जारी गर्ने भएको छ ।
बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्रबैंकले रिपो जारी गर्ने भएको हो । भदौ ३१ गते जारी हुने रिपो असोज १४ मा परिपक्व हुने छ ।
केन्द्रीय तरलता न्यून हुँदा रिपो बैंकले २ हप्ते अवधिको निक्षेप संकलन तथा रिपो र अधिक हुँदा रिभर्स रिपो जारी गर्ने व्यवस्था छ ।
पछिल्लो समय बजारमा तरलता घटेको छ । प्रणालीमा देखिएको तरलता अभावको समस्या समाधानका लागि रिपो उपकरणमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउन लागिएको हो । यो उपकरणमार्फत बजारमा पठाइने पैसा बैंकहरुले पाउने र यसले तरलता व्यवस्थापन हुने केन्द्रीय बैंकले जनाएको छ ।
बोलकबोलमा सहभागी हुनका लागि ए, बी र सी बर्गका बैंक तथा वित्तिय संस्थाहरुले संस्था र केन्द्रीय बैंक बीच अनिवार्य रूपमा मास्टर रिपर्चेज एग्रीमेण्ट र उल्लेखित सुरक्षा को मूल प्रतिलिपिसहित लिलामी हुने मितिको सवा ३ बजे भन्दा पहिले पेश गर्नुपर्ने छ ।
के हो रिपो ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाहका लागि प्रयोग हुने उपकरण “रिपो” हो ।
यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको केन्द्रीय बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिका लागि तरलता प्रवाह हुन जान्छ ।
बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ । रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नुअघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको टे«जरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ ।
रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र केन्द्रीय बैंक बीच अनिवार्य रूपमा मास्टर रिपर्चेज एग्रीमेण्ट भएको हुनुपर्दछ । अन्यथा रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइँदैन ।
प्रतिक्रिया