काठमाडौं, बजेट पारित हुन नसक्दा सरकारी कोषबाट हुने खर्च रोकिंदैछ । सोही कारण बजारमा लगानीयोग्य रकम केही दिन थप संकुचित हुन सक्ने भन्दै लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा बसेका हुन् । यसको सीधा प्रभाव नेप्सेमा परेको हो ।
यस्तै, प्राविधिक विश्लेषकहरुका अनुसार पनि बजारले अर्को नयाँ उचाई बनाउनुअघि भोल्यूम र सूचकमा गिरावट आएको हो । कारोबार रकम निकै घटिसकेको छ । अब केही दिनमै बजारले फेरि युटर्न लिन सक्ने उनीहरु बताउँछन् । भोल्यूम ड्राइ भइसकेको अवस्था छ । २१ अर्ब हाराहारीमा कारोबार भएको बजारमा अहिले ५ अर्ब आसपासमै खुम्चिएको छ । अब फेरि केही समयपछि रफ्तार लिन सक्ने उनीहरुको भनाई रहेको छ । यो करेक्सन सकिएपछि नेप्सेले फेरि नयाँ अल टाइम हाइ रेकर्ड बनाउन सक्ने कपितय विश्लेषकहरुले बताएका छन् ।
वित्तीय प्रणालीमा यसअघि नै तरलता केही संकुचित भएको थियो । अहिले बजेट प्रकरणले यसलाई थप सहयोग गरेको छ । अब बजेट पारित भएपछि स्थानीय निकायमा पनि पैसा जानेछ । बैंकिङ प्रणालीमा पनि पैसा सहज हुनेछ । चाडपर्व नजिकिएकाले रेमिटेन्स आउनेक्रम पनि बढ्नेछ । यसको सकारात्मक प्रभाव बजारमा पर्नेछ ।
यस्तै, ठूला लगानीकर्तालाई १२ करोडको क्यापको पनि केही समययता बजारमा प्रभाव देखिंदै आएको छ । तथापि, समग्रमा सेयर बजारमा बुल रनमै छ । अहिले करेक्सनको क्रम चलिहरेको छ । करेक्सनको चक्र समाप्त भएपछि बजारले फेरि रफ्तार समाउने विश्लेषकहरुको भनाई रहेको छ । तर आम लगानीकर्ताले स्वविवेक प्रयोग गरेर लगानीसम्बन्धी निर्णय लिनुपर्छ ।
यतिबेला लाभांशको सिजन हो । सूचीकृत कम्पनीहरुले गत वर्षको मुनाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । कोरोना कहरका बीचमा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गरेका छन् । उनीहरुले अब लाभांश घोषणा गरेपछि साधारण सभा बोलाउनेछन् । सभाबाट पारित भएपछि लगानीकर्ताको खातामा लाभांश पठाउने कार्य सुरु हुनेछ । यसर्थ, यतिबेला आम लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ ।
घटेको बजार बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी छ । लाभांशको मुखमा बजार घट्दा पेनिक हुन नहुने अनुभवी लगानीकर्ता विश्लेषकहरु बताउँछन् । मुखैमा आइसकेको लाभांश फुत्किन सक्नेतर्फ सर्वसाधारण लगानीकर्ता सचेत हुन आवश्यक छ ।
(नेपाली पैंसा)
प्रतिक्रिया