काठमाडौं - ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रोपावर इन्जिनियरिङ पढाउने भएको छ ।
विपन्न परिवारका जेहेन्दार एक÷एक छात्रछात्रालाई जिल्ला सदरमुकाम फुङ्लिङ-३ स्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा तीन वर्षे डिप्लोमा हाइड्रोपावर इन्जिनियरिङ पढाउन ८० प्रतिशत छत्रवृत्ति उपलब्ध गराउने गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए ।
जिल्लामा जलविद्युत आयोजना निर्माण हुने क्रममा रहेकाले दक्ष जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी गरिन लागिएको उनले बताए ।
गाउँपालिकाको २०७८/७९ को नीति तथा कार्याक्रममा चालु शैक्षिक सत्रदेखि विपन्न परिवारलाई इन्जिनियरिङ पढाउने भएकाले विपन्न परिवारका दुई विद्यार्थीलाई सहयोग गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीमप्रसाद पौडेलले बताए ।
आगामी शैक्षिक सत्रमा पनि गाउँपालिका नीति तथा कार्यक्रममा अन्य प्राविधिक धारका विषयमा छात्रवृत्ति उपलब्ध गराइने उनले बताए ।
हाइड्रोपावर इन्जिनियरिङ पढ्न प्रवेश शुल्क ३३ हजार र मासिक पाँच हजार ५०० शुल्क लाग्ने बाल सुबोधिनीका प्रधानाध्यापक रामचन्द्र दाहालले बताए ।
यता खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षा पढ्ने विद्यार्थी धनकुमार मगरलाई सहयोग गरेकी छन् ।
हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा अध्ययनरत मगरलाई राईले मोबाइल चार्ज गर्न एक थान व्याकअप, एउटा झोला, एउटा डिक्सनेरी, पाँचवटा कपी र एउटा डायरी प्रदान गरेकी हुन् ।
रुखमा डेरा बनाएर पढ्न अग्रसरता देखाएका छात्र मगरको प्रोत्साहनका लागि उपमेयर राई हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका वडाध्यक्ष रमेश राउतसहित अर्खौले पुगेका थिए ।
महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर अर्खौलेको नवलपुर सिम्लेस्थित घरनजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए ।
छात्र मगरले घर वरपर मोबाइल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएको बताए । हाल उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
प्रतिक्रिया