बलात्कारको आरोपमा २ र मोटरसाइकल चोरी गर्ने ६ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मङ्गलवार पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई गन्तव्यसम्म पु¥याइदिने भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा–१२ साझा पेट्रोलपम्प अगाडि लगेर गाडीभित्रै जबर्जस्ती करणी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको हो ।

बालिकालाई गन्तव्यसम्म नपु¥याई सोही स्थानमा छाडी गाडी लिएर फरार भएका दुई जनालाई प्रहरीले धुलिखेल नगरपालिका–७ बाट ट्रकसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ । 

चोरीका १६ मोटरसाइकलसहित ६ पक्राउ
जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ गरिएको जानकारी दिए । 

उनका अनुसार प्रहरीले चोरीका मोटरसाइकलसहित जिल्लाको मध्यविन्दु नगरपालिका–१० का २९ वर्षीय मुकेश थापा, सोही ठाउँका ३३ वर्षीय दिलबहादुर सोती, विनयी त्रिवेणी गाउँपालिका–२ का ३० वर्षीय गङ्गाबहादुर मगर, विनयी त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय प्रेमबहादुर पररियार, सोही स्थानका २० वर्षीय मिलन थापा र पाल्पाको निस्दी गाउँपालिका–७ का २५ वर्षीय खेमबहादुर सारुलाई पक्राउ गरेको छ । 

जिल्लामा एकैपटक ठूलो सङ्ख्यामा चोरीका मोटरसाइकल समातिएको यो पहिलो घटना भएको गिरीको भनाइ छ । प्रहरीले बरामद गरेका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरेर बुझाउने प्रक्रिया सुरु गरेको उनले बताए । 

चोरीका मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २० को चोरीसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको छ । प्रहरीले बरामद गरेका मोटरसाइकल चोरीमा संलग्न रहेका अन्य व्यक्तिको खोजी कार्यसमेत जारी रहेको जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया