काठमाडौं - रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई रु सात लाख नगद राहत सहयोग गरेका छन् ।
ताराखोला समाज जापानमार्फत सङ्कलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई हस्तान्तरण गरिएको हो ।राहत रकम बुझ्नेमा वडा नं १ का दुई, २ का ११, ३ का १४, ४ का दुई र वडा नं ५ का पाँच परिवार छन् ।
एउटा परिवारलाई न्यूनतम रु पाँच हजारदेखि बढीमा रु एक लाख २० हजारसम्म राहत सहयोग उपलब्ध गराइएको समाजले जनाएको छ । स्थानीयस्तरमा गठित ताराखोला समाजद्वारा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीलगायतले संयुक्तरूपमा राहत रकम प्रदान गरेको थियो ।
सो समितिका सचिव गणेश कार्कीका अनुसार समाजले वडा नं ३ मा रहेको हिल स्वास्थ्यचौकीका लागि रु आठ लाख बराबरका भिडियो एक्स–रे, एनालाइजरलगायत स्वास्थ्य उपकरण÷सामग्रीसमेत प्रदान गरेको छ । समाजले यसअघि गाउँपालिकाको विपद् कोषमा रु १४ लाख जम्मा गरेको थियो । गाउँपालिका अध्यक्ष घर्तीले प्रवासी नेपालीले आफ्नो गाउँका लागि निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।
बिरामीलाई हेलिकोप्टरकै भर
महाभारत पर्वत शृङ्खला (डाँडापारि) अवस्थित महाभारत गाउँपालिका–५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङका स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार उपचारार्थ हेलिकोप्टरबाट काठमाडौं लगियो ।
लामो ‘ब्यथा’ तथा दिसापिसाव रोकिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीलाई तत्काल हेलिकोप्टरको व्यवस्थापन गरी प्रसूतिगृह थापाथली लगिएको वडाध्यक्ष रविन मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाले कच्ची सडक विभिन्न स्थानमा क्षति पु¥याएपछि सदरमुकामस्थित अस्पतालमा ल्याउन सम्भव छैन ।
“निःशुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार अनुशालाई सेवा दिइएको हो”, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने । उनले हालसम्म छ हवाई सेवा प्राप्त गरेको जानकारी दिए । यसअघि गत साउन अन्तिम हप्ता डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्बालाई उपचारका लागि हेलिकोप्टरमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो ।
टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उहाँलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हवाई चार्टर्ड गर्नुपर्ने बाध्यता बनेको थियो । तत्कालीन समयमा उहाँका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल ल्याएको थियो ।
वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका बासिन्दाले बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपर्ने हुन्छ । हेलिकोप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ । डाँडापारिस्थित टाढाको विकट क्षेत्रमा महङ्गो भए पनि सडक अवरुद्ध हुँदा हेलिकोप्टर निकै सजिलो साधन मानिन्छ ।
प्रतिक्रिया