जिएमआरले कामै नगर्दा सतलज भने अरुण तेस्रो बनाउन कस्सियो, कति लाग्ला खर्च ?

७ बर्ष अगाडि

काठमाडौं । नेपालमा सबैभन्दा पहिले आयोजना विकास सम्झौता गरिएको भारतीय कम्पनी प्रवद्र्धक रहेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना करिब करिब कोमा जस्तै रहेको अवस्थामा अर्को भारतीय कम्पनी सतलज विद्युत् निगमले आयोजना निर्माणको काम सुरु गरेको छ ।
सरकारले सो आयोजनाको प्रवद्र्धक सतलज विद्युत् निगमलाई विद्युत् उत्पादन अनुमति दिने तयारी गरेको छ ।
कूल ९०० मेगावाट क्षमताको सो आयोजनाले हाल आयोजना स्थलमा आयोजना निर्माणको काम सुरु गरेको छ ।
आयोजनालाई विद्युत् उत्पादन अनुमति दिने अभिप्रायका साथ सरकारले आज एक सार्वजनिक सूचना समेत प्रकाशित गर्न लगाएको छ ।
सरकारी पत्रिका गोरखापत्रमा आज एक सूचना प्रकाशित गरी सतलज विद्युत् निगमको नेपाली कम्पनी एसजेभिएन लिमिटेडले आफ्नो गतिविधिका बारेमा जानकारी गराएको छ ।
ऊर्जा मन्त्रालयले अबको ३५ दिन भित्र सो आयोजनालाई विद्युत् उत्पादनको अनुमति दिने तयारी गरेको छ ।
आयोजनाको वित्तीय स्रोतको भने हालसम्म व्यवस्थापन भएको छैन । भारत सरकारले भारतका बैंक तथा वित्तीय संस्थाबाट ९१ अर्ब रकम लगानीका लागि स्वीकृति प्रदान गरेपनि हालसम्म रकम भने प्राप्त हुन सकेको छैन ।
यस्तै बाँकी रहेको रकम भारतीय बैंकको समेत लगानी रहेका एभेरेष्ट बैंक र नेपाल एसबीआई बैंकबाट ऋण लिने तयारी एसजेभिएनले गरेको छ ।
लगानी बोर्डले एसजेवीएनलाई विद्युत उत्पादनको लाइसेन्स दिनका लागि सार्वजनिक सुचना प्रकाशित गरेको जनाएको छ । नियमअनुसार  सूचना प्रकाशित भएको ३५ दिनपछि एसजेवीएनले अरुण तेस्रोबाट बिजुली उत्पादन लाइसेन्स पाउने छ । एसजेवीएनले आयोजनाको निर्माणको काम थालेको छ ।लगानी बोर्डको २९ औं सञ्चालक समिति बैठकले लाइसेन्सको प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि काम अघि बढेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले जानकारी दिए ।
अरुण तेस्रो आयोजना आगामी  ५ वर्ष भित्र निर्माण सम्पन्न गर्ने तयारी गरिएको छ ।
वन क्षेत्रको जग्गा प्रयोग, सरकारी जग्गा प्राप्ति, पहुँचमार्ग निर्माणमा रहेको अवरोध तथा निजी जग्गा प्राप्तिका कारण पटक पटक म्याद थप गर्दै बस्दै आएको आयोजना निर्माणमा नै गएका कारण सो आयोजना भने अब निर्माण हुने देखिएको छ ।
तर माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक जिएमआर भने हालसम्म कानमा तेल हालेर सुतिरहेको छ । आयोजना प्रभावित क्षेत्रको जग्गाको मुआब्जा समेत दिन सकेको छैन । भारतीय कम्पनी जिएमआर आफैमा वित्तीय रुपमा समस्यामा परेपछि मुआब्जा वितरणको काम समेत रोकिएको छ ।
भारतीय कम्पनी सतलजको नेपालीक म्पनी एसजेभिएनले  आउँदो २०७९ असोजसम्म अर्थात सन् २०२२ को सेप्टेम्वरमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ ।
हाल आयोजनाको बाँध निर्माण काम शुरु भइसकेको एसजेवीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतिशकुमार शर्माले जानकारी दिए।
 उनले यो महिनामा विद्युतगृह निर्माणको ठेक्का सम्झौता हुने र अर्को महिना हाइड्रोमेकानिकल, इलोक्ट्रोमेकानिकलको ठेक्कापट्टाको काम सकिने छ । उनले आयोजना तोकिएको समयमा पूरा गर्न चार चरणमा काम गरिने बताए ।
कति लाग्ला खर्च ?
पूर्णत भारत निकासीका लागि निर्माण हुन लागेको अरुण तेस्रो आयोजनाको कूल लागत १ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ ।
त्यसमा १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना  निर्माणमा खर्च हुनेछ भने  ११ अर्ब रुपैयाँ प्रसारणलाइन निर्माणमा खर्च हुनेछ ।
आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउने व्यवस्था परियोजना विकास सम्झौतामा उल्लेख गरिएको छ । आयोजना प्रभावित स्थानियबासीलाई १ अर्ब ६० करोड रुपैयाँको सेयर वितरण र मासिक ३० युनिट बिजुली निःशुल्क दिने प्रावधान समेत सम्झौतामा समावेश छ ।
आयोजना २५ वर्ष पछि नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ ।
 
एभरेष्ट बैंकको तीन अर्ब लगानी
अरुण तेस्रो जलविद्युत् आयोजनामा भारतीय बैंकको समेत लगानी रहेको  एभरेष्ट बैंकले ऋण लगानी गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार एभरेष्टले ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु ऋण लगानी गर्ने भएको हो । एभरेष्ट र आयोजनाको प्रवद्र्धक एसजेविएन बीच ऋण लगानी सम्झौता भएको छ ।
सो बैंकले संखुवासभाको दिदिङदेखि धनुषाको ढल्केबरसम्म ४ सय केभी क्षमताको १६८ किलोमिटर लामो प्रसारणलाइन बनाउन ऋण लगानी गर्ने सम्झौता गरेको छ । यो प्रसारणलाइनका लागि पञ्जाव नेसनल बैंकसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ । यस्तै नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड रुपैयाँ ब्रिजलोन लिने छ । यसका लागि नेपाली बैंकसँग प्रस्ताव मागिसकेको छ ।
आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा निर्माण गर्न लागिएको हो । आयोजनाको  बाँध साविक नुम र पाथिभरा गाविस तथा तथा विद्युत्गृह दिदिङ गाविसमा अवस्थित छ । आयोजनामा कूल ११ किलोमिटर लामो सुरुङ निर्माण गरिनेछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया