भैरहवा - छड तथा सिमेन्ट उद्योगले विनाकारण मूल्यवृद्धि गरेको भन्दै प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्रका भातृ संगठन युवा संघ नेपाल र वाईसीएल नेपाल रूपन्देहीका कार्यकर्ताले भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा रहेका १ दर्जन सिमेन्ट तथा छड उद्योगहरू बुधवार दिउँसोवाट बन्द गराएका छन् ।
सत्तारोहणको तयारीमा रहेको वाम गठबन्धनका भातृ संगठनहरूले उद्योग प्रतिष्ठानमा तालाबन्दी गरी उद्योग नै बन्द गराएपछि पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघले भने गैरजिम्मेवार कार्य भन्दै विरोध जनाएको छ ।
युवा संघ नेपाल रूपन्देहीकाका कार्यवाहक अध्यक्ष नकुल शाही, सिद्धार्थनगर इन्चार्ज कुमार गुरुङ, वाईसीएल रूपन्देहीका सहसंयोजक सुजन अधिकारी, प्रदेश कमिटी सदस्य प्रेम घर्तिमगर लगायतको नेतृत्वमा गएको ५० बढी कार्यकर्ताहरूले उद्योग बन्द गराउँदै मूलगेटमा तालाबन्दीसमेत गरेका छन् । तालाबन्दी पछि सवै उद्योग बन्द भएका छन् ।
युवा संघ नेपाल रूपन्देहीले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरिएकोमा विरोध गर्दै फिर्ता लिन बारम्बार आग्रह गर्दा पनि कुनै पहल नभएकोमा बाध्य भएर उद्योगहरूमा तालाबन्दी गरिएको युवा संघ नेपाल सिद्धार्थनगर इन्चार्ज कुमार गुरुङले वताए । युवासंघले यसअघि नै मंगलवार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीसमक्ष ज्ञापनपत्र वुझाउँदै मूल्यवृद्धि रोक्न माग गर्दै आार्थिक वर्ष नसकिँदै मूल्यवृद्धि गराउँदा राष्ट्रिय गौरवका आयोजनाहरू प्रभावित भएको र सामान्य नागरिकले बनाउन सुरु गरेका घर निर्माण पनि प्रभावित भएको उल्लेख गर्दै मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गरेको थियो ।
उद्योगहरूले विनाकारण निर्माण सामग्रीको मूल्यवृद्धि गरेको र वृद्धिको कारण पनि खुलाउन नसकेकाले बन्द गर्नुपरेको युवासंघका कार्यवाहक जिल्ला अध्यक्ष नकुल शाही ठकुरीले बताए ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले युवाहरूले ज्ञापनपत्र बुझाएपछि आफूले मूल्यवृद्धि फिर्ताका लागि विगतमा पनि छलफल गरिरहेका बेला भ्रातृ संगठनहरूले एक्कासी तालाबन्दी गरेको खबरले आफू आश्चर्यचकित भएको भन्दै प्रहरीलाई उद्योगमा लगाइएको ताला खोल्न निर्देशन दिइसकेकोे जानकारी दिए ।
भैरहवा लुम्विनी करिडोरमा रहेका नेपाल अम्बुजा, सिद्धार्थ, वृज, सुप्रिम, जगदम्बा, रिलायन्स, अग्नी, गोयनका, पाठक, अर्घाखाँची, विशाललगायतका सिमेन्ट उद्योग छन् भने अम्बे स्टिल, गोयनका स्टिल उद्योग रहेका छन् । रूपन्देहीमा रहेका अन्य छड उद्योगहरूमा एभरोल, पञ्चकन्या, एसआर स्टिललगायत छन् भने नवलपरासीमा लक्ष्मी स्टिल, काठमाडांै स्टिल, सर्वोत्तम सिमेन्ट, चितवन सिमेन्ट, वुटवल सिमेन्टलगायत छन् । कपिलवस्तुमा पनि विजयालगायत आधा दर्जन सिमेन्ट उद्योग छन् । तीन जिल्लाका सिमेन्ट उद्योगले देशको मागको ४० प्रतिशत सिमेन्ट उत्पादन गर्दै आएका छन्, कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया