हवाई टिकट काट्ने पैसा नभएर कतारमा अलपत्र परेका चार नेपाली कामदारको उद्धार

४ बर्ष अगाडि

काठमाडौं - हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली संघ ९एनआरएनए० कतारको पहलमा उद्धार गरिएको छ ।

कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहेका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई संघले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो ।

संघका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रबार बिहान ९ बजे काठमाडौँ आइपुगेका हुन् । लामा र पौडेल भने भदौ १ गते नेपाल फर्किएका थिए । ‘कानुनी प्रबन्ध दूतावासले मिलाउने गर्छ, संघले हवाई टिकट व्यवस्थापन गरेर उहाँलाई घर पठाएको हो,’ प्रवक्ता क्षेत्रीले टेलिफोनमा भने ।

छ महिनाअघि कतार गएका शाहीले आफू स्वास्थ्यका कारण काम छाडेर नेपाल फर्कनुपरेको बताए । ‘सुरुका दुई महिना काम गरेँ, त्यसपछि बिरामी परेँ,’ उनले भने, ‘कम्पनीले पठाउन नमानेपछि दूतावास र एनआरएनएको सहयोगमा नेपाल आएँ ।’ संकटमा सघाएर ‘एनआरएन’ले नबिर्सने गुन लगाएको उनको भनाइ छ । काठमाडौँ ओर्लेपछि आफू जन्मघर बाजुरा हिँडेको शाहीले सुनाए । 

कोभिड–१९ महामारी फैलिएयता थुप्रै अलपत्र श्रमिकलाई उद्धार र सहायता गरिएको संघले जनाएको छ । नेपाली दूतावाससँगको समन्वयमा उद्धार कार्य हुने गरेको प्रवक्ता क्षेत्रीले बताए । महामारीका बेला विदेशमा रोजगारी गुमाउने नेपाली श्रमिकको संख्या ठूलो छ ।

संघको राष्ट्रिय समन्वय परिषद् कतारले उद्धार समिति नै बनाएर त्यहाँ रहेका श्रमिक नेपालीको दुःखमा साथ दिँदै आएको छ । ‘समस्यामा परेका जो–कोही नेपालीलाई सङ्घले सहयोग गर्छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘जस्तोसुकै अप्ठ्यारो पर्दा सङ्घमा खबर गर्नुस् भनेका छौँ ।’ 

४ बर्ष अगाडि

प्रतिक्रिया