नेकपा एमालेका सचिव योगेश भट्टराईले मिलेनियमन च्यालेन्ज कर्पोरेसनसँग भएको सम्झौता संसदबाट पारित गर्ने पार्टीको नीति भएको बताएका छन्।
पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले संशोधनसहित एमसीसी पारित गर्ने एमालेको नीति रहेको बताएका हुन् ।
उनले नेकपा हुँदा बनेको कार्यदलको सुझाव अनुसार भएको निर्णयकै पक्षमा अहिले पनि एमाले रहेको बताए । 'नेकपा हुँदा नै तीन सदस्यीय कार्यदल बनाएका थियौं । त्यो कार्यदलको सुझावमा एमसीसीको सम्झौतालाई संशोधन सहित अघि बढाउने भन्ने सुझाव थियो ', उनले भने 'अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ ।'
एमालेले बुधबार बिहान भएको संसदीय दलको बैठकमा समेत एमसीसीको विषयमा छलफल भएको बताउँदै उनले एमसीसी अनुमोदनको विषयमा सरकारले लिने नीतिमा आधारमा अघि बढ्ने जानकारी दिए ।
'पहिलो कुरा सत्तारुढ दल र गठबन्धनले एमसीसीलाई यो अधिवेशनमा टेबुल गर्नुहुन्छ वा गर्नु हुँदैन ? त्यो हेर्दै छौं' उनले भने 'टेबुल गर्दा कस्तो अवस्थामा गर्नुहुन्छ । त्यो निर्णयमा सरकारको पोजिसन के हुन्छ त्यो हामी हेर्दै छौं ।'
प्रतिक्रिया