ग्रामीण भेगका कच्ची सडक हिलाम्य हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या, करोडौं लागतमा कालोपत्र गरिदैँ

४ बर्ष अगाडि

काठमाडौं - वर्षायाम सुरु भएसँगै जिल्लाका ग्रामीण भेगका कच्ची सडक हिलाम्य हुँदा स्थानीयवासीलाई समस्या भएको छ । स्थानीयवासीलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत समस्या भएको छ । 

वर्षातका कारण यहाँका अधिकांश स्थानीय तहको सदरमुकामसम्मको यातयात सेवा बन्द छ । सदुरमुकामबाट उत्तरी क्षेत्र षडानन्द नगरपालिकासँग जोड्ने भोजपुर–दिंला मुख्य सडकको हिलाम्य भएपछि यात्रुवाहक तथा ढुवानीका साधन सञ्चालनमा समस्या छ ।  

यस सडकको ग्राभेल गर्ने, नाली बनाउनेलगायत काम टेन्डर प्रक्रियामार्फत गरिएको थियो  तर स्थानीय सरकारको सानो अवसाधानीका कारण यो सडक अहिले हिलाम्य बनेको स्थानीयवासीको आरोप छ ।

सडक हिलाम्य भएर यातयात सञ्चालनमा समस्या भएपछि सुत्केरी तथा गर्भवती, आकस्मिक बिरामी तथा प्राकृतिक प्रकोपका कारण कुनै पनि विपत् आएमा भने निकै ठूलो समस्या हुने स्थानीयवासीको भनाइ छ । 

त्यस्तै जिल्ला सदरमुकामबाट हतुवागढी, रामप्रसादराई, आमचोक , साल्पासिलिछो गाउँपालिकालगायत ठाउँमा समेत सहज यातायात सञ्चालनका लागि समस्या रहेको छ ।

कतिपय ठाउँमा सडक ग्राभेल गरिएको भए पनि उचित ढलको व्यवस्था नहुँदा त्यस्ता स्थानमा पनि समस्या भएको छ । चाडबाड नजिकिएसँगै मानिसहरुको आवतजावत बढेको छ तर सडक सञ्चालनमा भने समस्या छ । 

प्रदेश सरकारको करिब रु १७ करोड लागतमा जिल्लाको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्मको पाँच किलोमिटर सडक कालोपत्र गरिएको छ । यो प्रेदश–१ सरकारले कालोपत्र गरेको जिल्लाको पहिलो सडक पनि हो । 

त्यस्तै रामप्रसादराई गाउँपालिकाको डढुवादेखि आरीखोलासम्मको करिब २० किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो सडकमा प्रदेश सरकारको करिब रु ५४ करोड लगानी रहेको छ । 

त्यस्तै प्रदेश सरकारले षडानन्द नगरपालिका–१२  तुर्केपुल–फाली दोबाटो २२ किलोमिटर सडक कालोपत्रको काम सुरु गरेको छ । रु ६१ करोड ६० लाख लागतमा आस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको सो सडक आगामी दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको पूर्वाधार विकास कार्यालयको भनाइ छ । 

जिल्लालाई छोटो सडक मार्गबाट तराईका जिल्लासँग जोड्ने लक्ष्यका साथ हतुवगढी –९ हसनपुरको चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी जोड्ने दूधकोशी नदीमा मोटरेबल पक्की पुल निर्माण भइरहेको छ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया