काठमाडौं - जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ मा गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका २०० घरपरिवार जोखिममा परेका छन् ।
केही दिन पहिलेको वर्षाका कारण पहिरो आउन थालेको स्थानीयवासी ७८ वर्षीया हरिना कडायतले जानकारी दिए । उनका अनुसार पहिरो अहिले पनि बेलाबेलामा आइरहेको छ ।
लगातार पहिरो आउन थालेपछि त्यहाँका नागरिकलाई सामान्य पानी पर्दासमेत गाउँ नै बग्ने डरले राति निद्रासमेत नपर्ने गरेको वडाध्यक्ष रामबहादुर खडकाले बताए ।
पहिरो नियन्त्रण नहुञ्जेलसम्म पूरै बस्ती सार्नुपर्ने अवस्था रहेको स्थानीयवासी तिरमलसिंह कुन्जेडाले बताए । गाउँमा आउने पहिरो नरोकिने अवस्था आएपछि यहाँका नागरिक गाउँ छाडेर अन्यत्र जाने अवस्थामा छन् ।
यता सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
पहिराका कारण सदरमुकाम खाँदबारीबाट गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । उत्तर–दक्षिण सडकखण्डको मकालु गाउँपालिका र भोटखोला गाउँपालिका सिमाना मकालु–३ हाइटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो हटाउन पहल भइरहेको प्रजिअ पौडेलले बताए ।
अहिले पनि त्यस क्षेत्रमा निरन्तर पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जीनियर गौतमकुमार श्रेष्ठले जानकारी दिए ।
पहिराका कारण सदरमुकाम खाँदबारीबाट भोटखोलाको हटिया पुगेको आधा दर्जन सवारी र खाद्यान्न बाकेर गएका ट्र्याक्टर हटियामै रोकिएका स्थानीयवासीले बताएका छन् ।
प्रतिक्रिया